पहिलो नम्बरको संगठन बन्नेगरी काम गर्न अखिल क्रान्तिकारीलाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी संगठन अखिल क्रान्तिकारीलाई आगामी निर्वाचनसम्म पहिलो नम्बरको संगठन बनाउन निर्देशन दिएका छन् ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित कार्यालय टिमसँग भएको छलफलमा प्रचण्डले संगठभित्रको समस्यालाई समाधान गरेर सशक्त ढंगले अघि बढ्न समेत आग्रह गरेका छन् ।

संगठनलाई विस्तार गरी समाजमा राजनीतिक चेतनासहितको सन्देश दिन अध्यक्षले निर्देशन दिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले बताए।

प्रचण्डले स्थानीय तह निर्वाचनमा पार्टीले राम्रो नतिजा ल्याएको भन्दै युवा विद्यार्थी त्यही अनुसार अघि बढ्नुपर्ने बताए । पछिल्लो निर्वाचनमा पार्टीले युवालाई अघि बढाएको र अबको निर्वाचनमा पनि युवालाई प्राथमिकता दिने आश्वासन अध्यक्षबाट पाइएको मैनालीको भनाइ छ ।

संगठनका विविध विषयमा छलफल गर्न बसेको बैठकमा माओवादीका नेता वर्षमान पुन, विद्यार्थी इन्चार्ज हितमान शाक्य र अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङ सहभागी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *