सिसडोलका आक्रोशित स्थानीयसँग मेयर बालेन्द्रको प्रश्न : मलाई काम गर्न नदिने हो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छन् ।

शपथग्रहण नगर्दै उनी काठमाडौंको फोहोर विसर्जन गरिने नुवाकोटको सिसडोल र वञ्चरेडाँडा पुगेर स्थलगत अवलोकन गरेका थिए भने आज उपमेयर सुनिता डंगोललाई समेत त्यहाँ लिएर गए ।

विभिन्न माग राखेर फोहोर विसर्जनमा अवरोध गरिरहेका स्थानीयवासीसँग मेयर बालेन्द्रले छलफल गरेका थिए । त्यस क्रममा स्थानीयसँग उनको चर्काचर्कीसमेत परेको थियो । केही स्थानीयवासी उत्तेजित रुपमा प्रस्तुत भएपछि बालेन्द्रले पनि कडा जवाफ दिएका थिए ।

उनले मेयरको कुर्सीमा बसे लगत्तै आफू फोहोरको समस्या समाधानमा लागिपरेको बताइरहँदा स्थानीयले होहल्ला गरे । आफूहरूको पुरानो माग समाधान नभएको उनीहरूको भनाइ थियो ।

बालेन्द्रले भने, ‘…म गइराको छु त । प्रधानमन्त्रीकोमा गएँ । आएको चार दिन भयो । मन्त्रीकोमा यही कुरा लिएर गएको छु । कि नजा भन्नु । कामै नगर भन्नु न त ।’

उनलाई रोक्दै एक स्थानीयले भन्छन्, ‘नजा भनेको छैन । तर, हामीले पाँच वर्षदेखि जनप्रतिनिधिलाई भनिरहेका छौँ…’

मेयर बालेन्द्रको जवाफ :

‘ए बाबा, पाँच वर्ष भएको छैन । तीन दिन, चार दिन मात्रै भयो क्या । चार दिन मात्रै भो । १७ वर्षको कुरा ममाथि लाद्नुहुन्छ ? मलाई काम गर्न त दिनुपर्‍यो नि । मलाई काम गर्न दिनुभयो भने काम हुन्छ । म स्वतन्त्र व्यक्ति हो । मलाई कुनै पनि पार्टीको केही पनि लाग्दैन । मैले साँठगाँठ कोहीसँग गरिराख्नु पर्दैन । कुनै पार्टीसँग सेटिङ पनि मिलाउनु पर्दैन ।’

उनले थपे :

‘मैले महानगरको मेयरको पद पनि लिइराख्नु पर्दैनथ्यो । पत्रिकामा देख्नु पनि भयो होला । ७०–८० बिघा के–के आइराख्या थ्यो । मैले यो जागिर पनि खाइराख्नु पर्दैनथ्यो । म इन्जिनियर हो । म आफ्नो काम गरेर बस्न सक्थेँ । साढे तीन लाख तलब खाइरहेको थिएँ ।

मैले कुनै पनि पार्टीसँग सेटिङ मिलाउनु पर्दैन । बुझ्नुभयो नि ? यो कुरा सबैले बुझिलदिनु परो । म स्वतन्त्र व्यक्ति हो । मलाई काम गर्न दिनुपर्‍यो । हप्ता दिनमा हुने कुनै काम छन् । एक महिनामा हुने कुनै काम छन् । ६ महिनामा हुने काम छन् । तपाईँहरूको जनप्रतिनिधिलाई मन्त्रालयमा कुरा गर्न वातावरण सहज गरिदिन्छु । त्यहाँ सम्झौता किन भएन गरिदिनुपर्‍यो भनेर हिजो पनि गएको थिएँ ।

हिजो गएर त थाहा भयो, अब यो आज टेन्डर खुल्दैछ । एउटालाई टेन्डर पर्छ त्यो १२ किलोमिटरको बाटोको । अर्को सिसडोलको कुराहरू छन् । दबाब दिने हो नि त । आज पनि मैले सडक विभाग, विद्युत् सबैलाई बोलाएको छु । समस्या समाधान गर्न म लागिपर्ने हो । म कुनै पार्टीको मान्छे होइन । मलाई कुनै पार्टीले अह्राउने, मलाई कसैले फोन गरेर केही पनि हुँदैन । काम गर्न दिनुपर्‍यो । त्यत्ति हो कुरा ।’

मेयरले यति भन्दा पनि स्थानीय शान्त भएनन् । झन् होहल्ला गर्न थाले ।

बालेन्द्रले भने, ‘तपाईंहरु रातभरि बोल्ने हो ?’

एक स्थानीयले मध्यस्थता गर्दै मेयरको कुरा सुन्न सबैलाई आग्रह गरे ।

उनले भने, ‘उहाँहरुले समस्या थाहा पाइसक्नुभएको छ । उहाँहरुको कुरा शान्त भएर सुनौं । चित्त बुझेन भने फेरि छलफल गरौंला ।’

त्यसपछि मेयरको साटो उपमेयर डंगोलले बोलिन् ।

उनको भनाइ यस्तो थियो :

हामी तपाईंहरुको आवाज सुन्न, समस्या सुन्न, वस्तुगतस्थिति अवलोकन गर्न आएका हौं । योभन्दा अघिपनि यहाँको जनप्रतिनिधिसँग कार्यकक्षमा बसेर कुरा गरेका छौँ । बिहानैदेखि कुरा सुनिरहेका छौँ तपाईंहरुको । हामीले विशेषगरी फोहोर-मैला व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेका छौँ । डे वान देखि आजसम्म विशेष ध्यान र प्राथमिकता नै यही हो । यसका लागि महानगरले हरेक तहका सरकारसँग गर्नुपर्ने समन्वय सहकार्यका लागि केही कार्य अगाडि बढाइसकेका छाैँ । महानगरभित्र पनि फोहोरमैला व्यवस्थापनका लागि कार्यदल बनाएका छाैँ । दिगोरुपमा यसको समाधान खोज्न पहल गरिरहेका छौं ।

उपमेयरपछि एक स्थानीय युवक आफ्नो पीडा ओकल्न थाल्छन् ।

…यो ठाउँमा फोहोर पारेपछि हाम्रो फ्यूचर हुँदैन । न हामी खेति किसानी गर्न सक्छौं । न कुखुरा पालन गर्न सक्छौं । हामी विजनेस पनि गर्न सक्दैनौं । म अहिले बीबीए गर्दैछु । बीबीए सकेर विजनेस गर्ने प्लानमा छु । त्यसका लागि पैत्रिक सम्पत्तिबाट ऋण ननिकालि हुँदैन । एक त यहाँको जमिन बिक्दैन । दोस्रो, बैंकले भ्यालुयसन दिँदैन । लोन कसरी लिने ? कसरी विजनेस गर्ने । कसरी अगाडि बढ्ने ? हाम्रो फ्यूचर नै छैन । हामीलाई राज्य, महानगर सबैले ढाँटेर झुलाइरहेका छन् । बाको पालादेखि नै । अबका दिनमा यहाँ फोहोर फाल्ने हो भने फोहोरको गाडी गाडी हाम्रो छातिमाथि चढाएर ल्याउनुपर्छ । ममात्र होइन, सबै जनता उठ्छन् । अहिले गुट बनाएर जनता–जनता भिडाउन खोजिएको छ । एक दिन खन्याउने, दुई दिन खन्याउने, अनि सँधै खन्यायने, त्यो सोचेको छ महानगरले र शहरी विकास मन्त्रालयले भने, राज्य र यहाँका टाउकोहरु जो फोहोरमाथि झिंगाजसरी भन्किएका छन्, तिनीहरुलाई कि मारिन्छ कि आफू मरिन्छ । खबरदार । जग्गा दलालहरु खबरदार ।

उनको कुरा सकिएपछि अर्का पाका व्यक्ति पनि उस्तै आक्रोशमा बोल्न थाले :

ब्रिटिस साम्राज्यले भारतमा तीन सय वर्ष राज्य गर्दा भारतीय जनताहरुले चुईंक्क नबोलि सडकमा बसेर साना नानीहरुले गरेको युद्दबाट सम्पूर्ण मिसायल हातहतियार पोटासियम साइनाइडहरु बोकेर ब्ल्याक सीको खाडीमा लगेको इतिहास मेयर र उपमेयरले बुझ्न जरुरी छ । त्यसो भएको हुनाले म के चाहन्छु भने हाम्रो आन्दोलन आमरुपमा धादिङ र नुवाकोटका आमजनताको जिन्दगीसँग गाँसिएको हुनाले… आजबाट एउटा माग थपिएको छ । तिनपिप्लेबाट यहाँसम्मको सम्पूर्ण बाटोको जमिनको पैसा नेपाली नागरिकलाई नगरपालिकाले भुक्तानी नगरेसम्म आजैका दिनबाट कुनैपनि फोहोरमैला बोकेको गाडी तिनपिप्लेबाट यता आउने छैन । त्यसकारणले हाम्रा माग पुरा नभएसम्म हाम्रो आन्दोलन जारी रहने घोषणा गर्दै मेरो वक्तव्य यहीँ टुंग्याउँछु ।

झमेला बढ्दै गएपछि कुनै निस्कर्षबिना मेयर र उपमेयर काठमाडौं फर्किएका छन् ।

Comments

4 responses to “सिसडोलका आक्रोशित स्थानीयसँग मेयर बालेन्द्रको प्रश्न : मलाई काम गर्न नदिने हो ?”

  1. कृष्ण सारु मगर Avatar
    कृष्ण सारु मगर

    त्यहाँका नागरिकका लागि राज्यले व्यावसायिक बाताबरण संगै शैक्षिक योग्यता अनुसारको रोजगारीको ग्यारेन्टी गरेर फोहोर मैला व्यावस्थापन गरे कसो होला ? तर, वनजंगल पनि नमासिने र स्थानीय समाजलाई पनि दुर्गन्धित नहुने महानगर फोहोर उठाउन ठेक्का पट्टा लिने वा पाउने ब्यावसायीले स्थानीय सरकार, महानगर र केन्द्रीय सरकारको त्रीपक्षीय सम्झौता हस्ताक्षरित ग्यारेन्टी हुनु पनि जरुरी छ ।

  2. कमलीकान्त भेटुवाल, लोकगायक Avatar
    कमलीकान्त भेटुवाल, लोकगायक

    शहरको फोहोर व्यवस्थापन दक्षिणकोरियाबाट सिकौँ। सुन्दर समाजमा लगेर काठमाण्डौका डकार र खकारहरु नफालौँ। मानव सभ्यताको ख्याल राखौँ। जहाँ फोहोर त्यहि व्ववस्थापनको सँस्कृति विकास गरौँ। अरुलाइ चिढ्याएर, कति न काठमाण्डौवासि कदापि नबनौँ। खवरदार। होसियार रोगी काठमाण्डु।

  3. ksp pyl Avatar
    ksp pyl

    झाक्रीले ठेकेदारसँग सेटिङ् गरेर बाटाे नबनाउने अनि दाेष महानगरलाई ?

  4. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    हिजो कसले कुन भूमिकामा बसेर के कति कमाउँथ्यो जनचासोको कुरो हैन, आज को कुन भूमिकामा कसरी काम गर्दैछ महत्त्वपूर्ण हो किनभने जनताको सरोकार त जनचासो र अपेक्षाहरू कसले कसरी पूरा गर्छ भन्ने नै हो। त्यसैले जनता थर्काउने भाषा र मनस्थितिबाट मूक्त भएर प्राप्त जिम्मेवारी पूरा गर्ने हो कि!

    विद्यासुन्दरको पालामा फोहोर उठ्न नदिन भएको राजनीतिको अध्ययन नगरी समाधान खोज्न सजिलो छैन भन्ने कुरा बालेनहरूलाई कसले भनिदेला!

Leave a Reply

Your email address will not be published. Required fields are marked *