काठमाडौं । भरतपुर महानगरपालिकामा रेनु दाहाललाई चुनाव जिताउन सबै साधनस्रोत लगाएर सहयोग गरेका विनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठलाई विभागसहितको मन्त्री बनाउन माओवादी अध्यक्ष प्रचण्डले चासो राखेका छन् ।
चुनावलगत्तै खुमलटार पुगेका श्रेष्ठलाई प्रचण्डले आफू चुनावमा उनको भूमिकामा खुसी भएको भन्दै विभागीय मन्त्री बनाउन सघाउने आश्वासन दिएका थिए । श्रेष्ठ भरतपुरको मेयरमा रेनु दाहाल जिताउन शेरबहादुर देउवा र प्रचण्डको प्रतिनिधिका रुपमा चितवनमा खटिएका थिए ।
चुनावमा रेनु जिताउन उमेश श्रेष्ठको व्यक्तिगत रुपमा पनि ठूलो खर्च भएको चर्चा चितवनका कांग्रेसहरुबीच चलेको छ । उनी आगामी संसदीय चुनावमा चितवन २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने सम्भावना छ । चितवन ३ बाट प्रचण्ड लड्ने भएकाले पनि उनलाई उमेशको सहयोग आवश्यक छ ।
प्रचण्डको भनाइ उदृत गर्दै खुमलटार वार्ताका एक सहभागीले भने, ‘तपाईले भरतपुरमा गठबन्धन जिताउन खेलेको भूमिकाबाट म खुसी भएको छु । प्रधानमन्त्रीलाई म पनि भन्छु, तपाईं पनि लाग्नुहोला । तपाईंलाई राम्रो मन्त्रालयसहितको मन्त्री बनाउनुपर्छ ।’
भरतपुरको चुनावमा रेनु जिताउन देउवा र प्रचण्डले उमेशलाई खटाएका थिए । दुवै नेतासँग राम्रो सम्बन्ध कायम गरेका र अर्थमन्त्री जनार्दन शर्माको व्यापारिक साझेदारसमेत रहेकाले यसपटक उमेशले विभागीय मन्त्रालय पाउने सम्भावना रहेको छ । यसअघि केही समय स्वास्थ्य राज्यमन्त्री भएका श्रेष्ठलाई मन्त्रिपरिषद् विस्तारपछि विनाविभागीय राज्यमन्त्री बनाइएको थियो ।
उमेशले विभागीय मन्त्री पाउन मन्त्रिपरिषद् पुनर्गठन हुनुपर्छ । अहिले सत्ता गठबन्धनका नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मन्त्रीहरु हरुफेर गर्न चाहेको प्रचण्डले बताएका छन् । त्यसो त प्रचण्डले माओवादीले आफ्नो हैसियतअनुसार सरकारमा मन्त्रालय नपाएको र आफ्नो भागको मन्त्रालय नेकपा एसलाई दिएको भन्दै अब सम्मानजनक सहभागिता हुनुपर्ने पनि बताइसकेका छन् ।
अहिले प्रधानमन्त्रीले रक्षा मन्त्रालय आफैसँग राखेका छन् ।

Leave a Reply