नेपालगञ्ज झडपमा डेढ दर्जन घाइते, प्रहरीद्वारा हवाई फायर

रुपन्देही । बाँकेको नेपालगञ्जस्थित धम्बोझी चोकमा आज राखिएकाे स्व. राजा वीरेन्द्रको सालिक हटाउने क्रममा प्रहरी र स्थानीयबीच भएको झडपमा एक दर्जन घाइते भएका छन् ।

आज जेठ १९ मा स्व. वीरेन्द्रको सम्झनामा राजतन्त्र माग गर्दै आएको समूहले सालिक राखेपछि प्रहरीले बल प्रयाेग गरी हटाउने क्रममा झडप भएकाे थियाे । झडपका क्रममा प्रहरीले केही राउण्ड हवाई फायरसमेत गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले प्रहरीले बाध्य भएर केही राउण्ड हवाई फायर गरेको जानकारी दिँदै केही प्रहरी घाइते भएको बताए । उनले अहिले स्थिति नियन्त्रणमा आएको जानकारी दिए । सो स्थानमा अहिले आवतजावत रोकिएको छ ।  त्यस क्षेत्रमा अहिले पनि प्रहरी तैनाथ छन् ।

प्रहरीका अनुसार झडपमा ९ प्रहरी घाइते भएका छन् । प्रदर्शनकारी पनि आधा दर्जन घाइते भएकाे बाँके प्रहरीले जनाएकाे छ । प्रहरीले सालिक हटाउँदा सालिक राख्ने समूहले ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।

सक्रिय राजतन्त्रको अन्त्य भएपछि नेपालगञ्जको धम्बोझी चोकमा रहेको राजा वीरेन्द्रको सालिक लोकतान्त्रिक आन्दोलनका क्रममा आक्रोशित एक समूहले २०६४ सालमा तोडफोड गरेकाे थियाे । तत्पश्चात चोकमा राष्ट्रिय झण्डा फहराइएको थियो ।

त्यसको झण्डै एक दशकपछि राजतन्त्रमा आस्था राख्ने केही संगठनहरुले राजा वीरेन्द्रको सालिक नाटकीय ढंगले वीरेन्द्र चोकमा स्थापना गरे । २०७३ साल भदौ १६ गते बिहीबार बिहान ‘राष्ट्रवादी युवा’का नामक संस्थामा आवद्ध राजतन्त्र पक्षधरहरुले प्रहरी छक्याउँदै सालिक पुनःस्थापना गरेका थिए ।

झण्डा फेर्ने बहानामा प्रहरी प्रशासनलाई समेत झुक्याएर वीरेन्द्रको सालिक राखिएको स्थानीयको भनाइ छ । सालिक पुनःस्थापनाको क्रममा प्रहरीले लाठीचार्जसमेत गरेको थियो । त्यो समयमा पुनःस्थापना गरेकाे सालिक २४ घण्टापछि प्रशासनले हटाएकाे थियाे । त्यस क्रममा तत्कालीन राप्रपा नेपाल बाँकेका कोषाध्यक्ष तेजनारायण कँडेलसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई भोलिपल्ट रिहा गरिएको थियो ।

आज जेठ १९ गते राज परिवारको हत्या भएको दिनको अवसर पारेर नेपालगञ्जको धम्बोझी चोकमा पुनः अर्धकदको सालिक पुनःस्थापना गरिएको छ । केही महिनाअघि जनआन्दोलनकै क्रममा तोडफोड भएपछि झण्डा लगाइएको त्रिभुवन चोकमा पनि राजा त्रिभुवनको सालिक राखिएको थियो । अहिले त्रिभुवन चोकमा सालिक कायम छ ।

स्व. राजा वीरेन्द्रको सालिक पनि अब कायम राखिने सम्भावना छ । राप्रपा महामन्त्री धवलशमशेर राणा यसअघि यहाँको मेयर भएकै कारण यसप्रकारको रणनीति बनाइएको भन्दै विभिन्न दलका नेताहरुले आरोप लगाउँदै आएका छन् । तर, राप्रपाले भने आजको घटनाको दोष प्रहरीलाई लगाएको छ ।

राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले प्रहरीको ठूलो दमनले दर्जनौं कार्यकर्ता घाइते भएको जनाएका छन् । ‘प्रहरी आफैले सालिक हटाएको छ । धेरैलाई पक्राउ गरिएको छ । जनतामाथिको दमनको जवाफ सरकारले दिनुपर्छ’, उनले भने, ‘संयमता अपनाउँदै प्रतिकारको रणनीति बनाउँछौं । राष्ट्रवादी शक्तिलाई एक हुन आग्रह गरेका छौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *