काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपालीलाई यूएई पुर्याएर अलपत्र पार्ने काममा संलग्न मुख्य अभियुक्त पक्राउ गरेको जनाएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी कुवेर कडायतले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई भेटी भिजिट भिसामा यूएई पुर्याएर अलपत्र पार्ने काममा संलग्न मुख्य अभियुक्तहरू पक्राउ गरिएको जानकारी दिएका हुन ।
कडायतका अनुसार मुख्य अभियुक्त त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका सञ्चालक कोमलराज उपाध्यायलाई युएई प्रहरीले दुबईमा पक्राउ गरेको छ ।
उनलाई नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेको थियो । उपाध्यायकी श्रीमती रञ्जना ढकाललाई आइतबार सर्लाहीबाट पक्राउ गरिएको छ ।
ताल्चा लगाएको घरभित्र लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको कडायतले बताए । साथै रोजगारीको प्रलोभन देखाएर नेपाली युवालाई भिजिट भिसामा यूएई पुर्याउने कार्यमा संलग्न मधुविलास सापकोटा, खुमबहादुर खड्का र सन्तोष प्याकुरेल पनि पक्राउ परेका छन् ।
उनीहरुले भिजिट भिसाको नाममा करिब २ करोड ५० लाख ठगी गरेको भन्दै ७६ जना पीडितले उजुरी दिएका थिए ।
एसएसपी कडायतले ठगीमा संलग्न कम्पनी वा व्यक्तिलाई कारबाहीको दायरा ल्याउन उनीहरूबारे जानकारी गराइ सहयोग गर्न केन्द्रीय अनुसन्धान व्युरोले अपिल गरेको बताए ।
आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिसा’मा यूएई सहित विभिन्न मुलुक पुर्याएर अलपत्र पार्ने काममा संलग्न म्यानपावर कम्पनी, ट्राभल्स सञ्चालक, दलाल तथा बिचौलियालाई कारबाहीको दायरामा ल्याउनुपर्ने मन्त्री श्रेष्ठले बताए ।

Leave a Reply