राजीनामा दिएर चुनाव लडे, हारेपछि निवेदनको भरमै फेरि नियुक्ति

कपिलवस्तु । निर्वाचनमा पराजय भोगेका कपिलवस्तुका एक शिक्षकलाई प्रक्रिया मिचेर पुनर्नियुक्ति दिइएको छ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ राम गोरखा माध्यमिक विद्यालयमा अध्यापन गराउने अजित कुमार सिंहलाई व्यवस्थापन समितिले सोझै नियुक्त गरेको छ ।

कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह अध्यक्ष रहेको व्यवस्थापन समितिले निवेदनको भरमा शिक्षक नियुक्त गरेको छ ।

स्थानीय तहको निर्वाचनमा महाराजगन्ज नगरपालिका वडा नम्बर ६ मा जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिनका लागि सिंहले राजीनामा पेस गरेका थिए ।

उनले वैशाख ८ राजीनामा बुझाए पछि अर्को दिन स्वीकृत गरिएको जनाउँदै पत्र काटिएको थियो ।

राजीनामा दिएको प्रमाण पत्र दिए पछि उनले उम्मेदवारी दिएका थिए । सिंहले ४ सय ९४ मत प्राप्त गरी तेस्रो भएका थिए ।

व्यवस्थापन समितिका अध्यक्ष तथा नगरप्रमुख शाहसँग मौखिक आदेशमा राजीनामा स्वीकृत गरेको पत्र बनाइएको विद्यालयका प्रअ प्रदीप कुमार सिंहले बताए ।

शिक्षक र विद्यालयका प्रअ दाजुभाइ हुन् । सिंह दाजुभाइ र मेयर शाहबीच काका भतिजाको सम्बन्ध समेत रहेको छ ।

सिंहले सी.टी.इ.भ.टी. १८ महिने कोर्स अन्तर्गत वाली विज्ञान विषय अध्यापन गराउन सहायक प्रशिक्षक पदमा ३ वर्ष अगाडि नियुक्त भएका थिए ।

राजीनामा स्वीकृत भएपछि पदपूर्तिको लागि सूचना प्रकाशन नगरी ठाडो नियुक्ति गरिएको थियो ।

निर्वाचनमा पराजित भए पछि उनले विद्यालयमा सोही पदमा नियुक्तिका लागि निवेदन पेस गरेका थिए ।

निवेदनको आधारमा विद्यालय व्यवस्थापन समितिको जेठ १५ गते बसेको बैठकले पुरानो सेवा सुविधा दिने गरी नियुक्त गर्ने निर्णय गरेका थियो । तर प्रचलित कानुन अनुसार रिक्त पदमा दरखास्त आह्वान गरे पछि मात्र नियुक्त गर्ने नियम रहेको छ ।

न्यूज कारखाना

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *