विद्यालयको जग्गा २८ वर्षदेखि गाउँपालिका उपाध्यक्षको कब्जामा

सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिकाका उपाध्यक्ष मिना कुमारी रोकायाको परिवारले विद्यालयको जग्गामा कब्जा गरेको छ ।

भैरव माद्यमिक विद्यालयको नाममा रहेको जग्गा विगत २८ वर्षदेखि उनको परिवारले कब्जा गरेको हो ।

विद्यालयको नाममा रहेको ९घ /८९ क्षेत्रफल ७–२–२–१ र ९घ/९५ ०–५–०–१ जग्गा कुनैपनि सम्झौता, समन्वयबिना नै रोकायाको परिवारले भोगचलन गर्दै आएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्र रानाले उपाध्यक्षको परिवारले श्रीखेतमा रहेको आठ रोपनी जग्गा भोगचलन गर्दै आएको बताए ।

‘असाध्यै उब्जनी हुने जग्गा हो । हामीले अहिले पढ्दै कमाउँदै कार्यक्रम लागू गरेका छौं । त्यसका लागि जग्गा आवश्यक पर्ने भएका कारण जग्गा छोडिदिन आग्रह गरेका छौं,’ उनले भने, ‘हालसम्म उहाँहरुले जग्गा खाली गर्नुभएको छैन । सकेसम्म सहमति मै जग्गा फिर्ता ल्याउँछौं । नभए सरकारी जग्गा भएका कारण सरकारले नै खाली गराउँछ ।’

उक्त जग्गा २०४१ सालमा विद्यालयको नाममा दर्ता भएको हो ।

यता, गाउँपालिकाका उपाध्यक्ष रोकायाले भने आफ्नो बाजे परबाजेको समयदेखि नै भोगचलन गर्दै आएको दाबी गरेकी छन् ।

उनले भनिन्, ‘जग्गा विद्यालयको नाममा दर्ता भएको छ । विद्यालयले भागचलनका लागि माग्न आएमा दिन हामी तयार रहेका छौँ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *