सुर्खेत बसपार्कको ठेक्का बक्यौता २६ करोड, असुलबारे नगरपालिका नै अलमलमा

सुर्खेत । सुर्खेतको सिटी बसपार्कका सटर भाडामा लिएका ठेकेदारले ९ महिनायताको भाडा तिरेका छैनन् । मासिक ३१ लाख १५ हजार ५३२ बुझाउने गरी बसपार्क सञ्चालनको जिम्मा लिएको पीआर कन्स्ट्रक्सनले नगरपालिकालाई भाडा नबुझाएको हो ।

बसपार्क सञ्चालनको लागि भक्तपुरमा रहेको उक्त कन्स्ट्रक्सन र वीरेन्द्र नगरपालिकाबीच सम्झौता भएको थियो । भाडा बक्यौता उठाउन १० पटकसम्म पत्राचार गरिएको नगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीका अनुसार पीआर कन्स्ट्रक्सनले नगरपालिकालाई झण्डै २६ करोड तिर्न बाँकी छ । यो रकम हर्जनासहितको हो ।

नगरपालिका र कम्पनीबीच भएको सम्झौताअनुसार मासिक भाडा अर्को महिनाको १५ गतेसम्ममा नबुझाए १ प्रतिशत जरिबाना लाग्छ । एक महिना नाघे २ र दुई महिना नाघे ५ प्रतिशत जरिबाना तिर्नुपर्ने हुन्छ । अहिले कम्पनीको नाममा कुल बक्यौताको ५ प्रतिशत जरिबाना दैनिक थपिँदै गएको छ ।

प्रमुख प्रशासकीय अधिकृत तिवारीका अनुसार सुरुमा सम्झौता गर्दा तोकिएको समयसीमाभित्र कम्पनीले भाडा नबुझाए दैनिक पाँच प्रतिशतका दरले थप रकम तिर्नुपर्छ । यस हिसाबले अहिले दैनिक ८-१० लाखको दरले बक्यौता थपिँदै गएको छ ।

नगरपालिका र कम्पनीबीच भएको सम्झौताका विषयमा प्रमुख प्रशासकीय अधिकृत तिवारी आफैँ अन्योलमा छन् ।

‘यति महँगो भाडा कुनै कानूनसँग मेल खाँदैन, कसरी सम्झौता गरियो थाहा छैन,’ बसपार्क व्यवस्थापन समितिका सदस्यसमेत रहेका तिवारी भन्छन्, ‘सम्झौता नै हाम्रो लागि मूल कानून भएकाले मान्नैपर्‍यो ।’

पीआर कन्स्ट्रक्सनले कोभिडका कारण बसपार्क नचलेको कारण जनाउँदै भाडामा छुट मागेको थियो । नगरपालिकाले पछिल्लो लकडाउन अवधिको भाडा सतप्रतिशत छुट गर्ने निर्णय पनि गरेको थियो ।

‘उहाँहरू (पीआर कन्स्ट्रक्सन) त्यतिबेला हामीले झुक्किएर सम्झौतामा हस्ताक्षर गर्‍यौं भन्नुहुन्छ, तर आफ्नो बचाउमा कुनै निवेदन दिनुभएको छैन ’, उनी भन्छन् ।

बसपार्क व्यवस्थापन समितिका अध्यक्ष तथा वीरेन्द्रनगरका मेयर मोहनमाया ढकालका अनुसार बसपार्कको भाडा नतिरेको विषय प्रक्रियाअनुसार कार्यपालिकामा छलफल हुने र कानूनअनुसार अघि बढ्ने बताए ।

यो विषय तत्काल किनारा लगाउन नसकिए भविष्यमा सम्झौताका दुवै पक्षलाई अप्ठ्यारो पर्ने प्रमुख प्रशासकीय अधिकृत तिवारीको भनाइ छ ।
बसपार्क सञ्चालनको जिम्मा पाएको पीआर कन्स्ट्रक्सनले नगरपालिकासँगको सम्झौताले आफू मर्कामा परेको जनाएको छ । कम्पनीका सुर्खेत प्रतिनिधि गोविन्द मल्लले आफूहरू भाडा तिर्न तयार रहेको तर हर्जनामा पुनर्विचार हुनुपर्ने बताए ।

उनले दैनिक पाँच प्रतिशतका दरले लाग्ने हर्जना पुनर्विचार गरिदिन नगरपालिकालाई दुई पटक निवेदन दिएको बताए । सम्झौताअनुसार थप गर्ने भनिएका कतिपय संरचनाहरू नगरपालिकाले नबनाइदिँदा पनि घाटा सहनु परेको मल्लको जिकिर छ ।

सिटी बसपार्कमा ५४ वटा सटरसहित ग्यारेज, टिकट काउन्टर, शौचालय र पार्किङस्थल छन् । बसपार्क व्यवस्थापन कार्यविधि, २०७६ अनुसार सञ्चालक कम्पनीले कोठा वा सेड भाडा, बसपार्क प्रवेश शुल्क, बस पार्किङ शुल्क, शौचालय सेवा शुल्क, विज्ञापन शुल्क र समितिको सिफारिसमा नगर कार्यपालिकाबाट निर्णय भएका अन्य शुल्क उठाउन पाउँछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *