काठमाडौं । एक युवतीले बलात्कारको आरोप लगाएपछि पक्राउ परेका सुन्दरी प्रतियोगिता आयोजक तथा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट थप ७ दिनको म्याद पाएको छ ।
जिल्ला अदालत काठमाडौंले काठमाडौं प्रहरी कार्यालयलाई ७ दिनको समय दिएको हो । यसअघि पहिलोपटक ५ दिनको म्याद दिएको थियो । ८ वर्ष पुरानो घटना दाबी गरिएकोमा बलात्कारको हद म्याद सकिएकाले प्रहरीले मानव बेचबिखनको कसुरमा अनुसन्धान गरिरहेको छ ।
यसअघि सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धा गरेकी युवतीले एक साताअघि सामाजिक सन्जालमार्फत आफू ८ वर्षअघि बलात्कारमा परेको भन्दै दोषीमाथी कडा कारबाहीको माग गरेकी थिइन् । यस घटनापछि बलात्कार कसुरमा हद म्याद हटाउनु पर्ने माग चर्किएको छ ।
वर्तमान कानुनअनुसार बलात्कार मुद्दामा घटना भएको एक वर्षभित्र अदालतमा मुद्दा पेस भइसक्नुपर्छ ।

Leave a Reply