स्थानीयले विमान दुर्घटना भएको भनेको ठाउँमा हाम्रो टोली पैदलै पुग्दैछ- नेपाली सेना

काठमाडौं । तारा एयरको विमान दुर्घटना भएको भनिएको ठाउँमा आफ्नो टोली पुग्न लागेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले स्थानीयले खबर गरेको भनिएको ठाउँमा टोली गइरहेको बताए ।

‘मानापाथी हिमालको फेदमा जहाँबाट लान्चे खोलाको मुहान सुरु हुन्छ, त्यहाँ विमान दुर्घटना भएको भनेर स्थानीयले खबर ल्याएका छन् । तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । त्यसका लागि हाम्रो टोली त्यहाँ जाँदैछ। विभिन्न समूहमा बाँडेर हामीले उनीहरुलाई परिचालन गरेका छौं’, सैनिक प्रवक्ता सिलवालले भने ।

उनले स्थानीयले भनेको ठाउँ कोभाङबाट ३/४ घण्टाको पैदल दूरीमा रहेको बताए । नेपाली सेनाको ६०/६५ जनाको टोलीले बिहानैदेखि सम्भावित क्षेत्रमा पैदल खोजतलास गरिरहेको थियो । १९ यात्रु लिएर बिहान ९:५५ बजे पोखरा विमानस्थलबाट मुस्ताङको जोमसोमका लागि उडेको विमान सम्पर्कविहीन भएको थियो ।

प्रवक्ता सिलवालले कोभाङमा हेलिकप्टरसमेत तयारी अवस्थामा रहेको र मौसम खुल्नेवित्तिकै त्यसतर्फ जाने पनि बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *