बाक्लो कुहिरोका कारण विमान खोज्न कठिनाइ

काठमाडौं । नागरिक उड्ड्यन प्राधिकरणले मुस्ताङको न्याउरीकोट क्षेत्रमा हराइरहेको तारा एयरको विमान खोज्न कठिन भइरहेको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले पहाडमाथि बाक्लो कुहिरो भएका कारण खोजी कार्य कठिन भइरहेको बताए ।

‘स्थलमार्ग र हवाई मार्ग दुवैबाट खोज्ने काम भइरहेको छ तर पहाडमाथि बाक्लो हुस्सु लागेका कारण समस्या भइरहेको छ’, कर्णले भने।

प्राधिकरणका अनुसार एउटा हेलिकप्टर त्यस क्षेत्रमा परिचालन भइसकेको छ भने काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकप्टर पनि पोखरा विमानस्थलबाट उड्ने तयारीमा छ ।

न्याउरीकोट क्षेत्रमा विमानको आवाज सुनेको स्थानीय बताएपछि त्यस क्षेत्रलाई केन्द्रित गरी खोजी भइरहेको कर्णले बताए । ६ विदेशीसहित १९ यात्रु लिएर बिहान ९ः५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको जहाज जोमसोममा अवतरण हुन केही मिनेट बाँकी छँदा एयर ट्राफिक कन्ट्रोल (एटिसी) सँग सम्बन्ध विच्छेद भएको थियो ।

विमान निर्धारित समयअनुसार बिहान १० बजेर १५ मिनेटमा जोमसोममा अवतरण हुनुपर्ने थियो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पनि हालसम्म विमान नभेटिएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *