बालेनलाई केशव स्थापितको शुभकामना- रचनात्मक सहयोग र निरन्तर खवरदारी गर्नेछु

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा पराजित भएका नेकपा एमालेका नेता केशव स्थापितले बालेन साहलाई बधाई र सफलताको शुभकामना दिँदै आगामी पाँच वर्ष रचनात्मक सहयोग र कमजोरीमा निरन्तर खवरदारी गर्ने बताएका छन् ।

पराजयपछि वक्तव्य जारी गर्दै स्थापितले उपमेयरमा निर्वाचित सुनिता डंगोलसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई शासक होइन सेवक भएर काम गर्न आग्रह समेत गरेका छन् ।

उनले आफू पटक पटक लडेर पनि फेरि धुला टक्टक्याएर उठेको व्यक्ति हुँ भन्दै यो पराजयलाई सामान्य लोकतान्त्रिक अभ्यासका रुपमा लिएको बताएका छन् ।

स्थापितले भनेका छन्–म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु । काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो। त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ।

जनताको सेवक भएर काम गर्ने मेरो आकाङ्क्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न नसकेपछि काठमाडौंको विकास र यहाँको समृद्धिप्रतिको आकाङ्क्षा अलिकति पनि तलमाथि नभएको उनले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *