फोटो पत्रकार पौडेलले प्रहरीमा के दिए बयान ?

काठमाडौं । ८ वर्षअघिको यौन शोषण काण्डमा प्रहरीले फोटो पत्रकार श्रीधर पौडेलसँग बयान लिएको छ । पौडेलले पीडित युवतीको दाबीमा सहयोग पुग्ने बयान दिएको प्रहरी स्रोतले बतायो ।

पेप्सीकोला घर भएकी सुस्मिता रेग्मीले ८ वर्षअघि एक सुन्दरी प्रतियोगिताका आयोजकले आफूमाथि बलात्कार गरेको घटना केही दिनअघि सार्वजनिक गरेकी थिइन् ।

त्यस बेला युवतीको फोटोसेसन गरेका फोटो पत्रकार पौडेलसँग महानगरीय प्रहरी परिसर टेकुले सोधपुछ गरेको हो ।

प्रहरी स्रोतका अनुसार पौडेलले व्यवसायीक हिसाबले आफूले आयोजकसँग पारिश्रमिक लिएर इभेन्टको फोटो खिचेको बताए ।

आरोपीको कन्सल्टेन्सीमा भएको लफडाबारे उनले प्रहरीलाई बताएका थिए । प्रहरी स्रोतका अनुसार पौडेलको बयानले दिएको बयान यस्तो छ:

‘मिस ग्लोबल आयोजना भएको केही महिनापछि मलाई मनोज पाण्डेको कन्सल्टेन्सीबाट त्यहाँ लफडा भएको भन्दै फोन आयो । त्यसपछि गएको हुँ ।

म पुग्दा पाण्डेलाई युवतीका केटा साथीले पिटिरहेका थिए । मैले युवतीसँग विवादबारे सोधेँ । उनले आफूलाई पाण्डेले ब्याड टच र सेक्सुअल ह्यारेसमेन्ट गरेको बताइन् । त्यसपछि मैले पनि आक्रोशमा आएर पाण्डेलाई सुरुमा क्यालेन्डरले र त्यसपछि जुत्ताले हिर्काएको हुँ ।

मैले किशोरीलाई कानूनी उपचारमा जाने सल्लाह दिएको थिएँ । तर, उनले कानूनी उपचार भन्दा पनि भविष्यमा यो इभेन्ट नै आयोजना गर्न नहुने माग राखिन् । त्यसमा मनोज पाण्डेले सहमति जनाएपछि म फर्किएको हुँ ।’

युवतीले आफ्नो भिडियोमा त्यस बेलाका प्रेमीले आफूलाई कानूनी उपचारमा नजान सल्लाह दिएकाले नगएको बताएकी थिइन् ।

पौडेलले पाण्डेले आयोजना गरेको इभेन्टमा फोटो खिचेको र अनलाइन खबरको स्टुडियोमा फोटोसेसन गरेको बाहेक यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको प्रहरीलाई स्पष्ट पारेका छन् ।

यसअघि आफ्नो फोटो दुरुपयोग गरेर घटनामा आफूलाई आरोपित गरेको भन्दै पौडेलले साइबर ब्यूरोमा उजुरीसमेत दिएका थिए ।

Comments

One response to “फोटो पत्रकार पौडेलले प्रहरीमा के दिए बयान ?”

  1. sujit gurung Avatar
    sujit gurung

    पिडितको नाम, थर, ठेगाना खुलाउन हुँदैन भन्ने थाहा छैन कि क्या हो? पत्रकारीताको नियम थाहा नपाउनेहरूले पत्रकारिता गरेको देख्दा पनि उदेग लागेर आउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *