दाङमा महरामाथि पोखरेल हाबी, गठबन्धनलाई हराउँदै दुवै उपमहानगरमा एमाले जिताउन सफल

रुपन्देही । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले बलियो क्षेत्र मानेको दाङका दुवै उपमहानगरपालिका जित हात पार्न नेकपा एमाले सफल भएको छ । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको गृहजिल्ला दाङका दुवै उपमहानगरमा आफ्नो उम्मेदवारलाई जिताउन सफल भएका हुन्, नेकपा एमालेका महासचिव शंकर पोखरेल ।

दुवै उपमहानगरमा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र तीनै पार्टीले आफू बलियो दाबी गरेका क्षेत्र हुन् । तर एमाले विभाजनबाट बनेको नेकपा एस, जसपा, जनमोर्चा तथा मुख्यशक्ति मानिएका कांग्रेस र माओवादी केन्द्रको बलियो गठबन्धनलाई पराजित गर्दै एमालेको विरासत जोगाउन महासचिव पोखरेल सफल भए ।

गत निर्वाचनमा उपमहानगर जितेको एमालेलाई यसपालि कठिन पर्ने धेरैको विश्लेषण थियो । तर, उनीहरुको विश्लेषण फेल खाएको छ । यही आंकलनलाई ध्यान दिँदै गठबन्धन दलले घोराहीमा माओवादीलाई मेयर तथा कांग्रेसलाई उपमेयर तथा तुलसीपुरमा कांग्रेसलाई मेयर तथा नेकपा एसलाई उपमेयर भागबण्डा मिलाएका थिए ।

दाङमा सत्तागठबन्धनले एमालेलाई क्लिनस्वीप पारेर जाने घोषणा गरे पनि दुवै उपमहानगरमा असफल भएका छन् । महासचिव पोखरेलको कठिन मेहनतले गठबन्धन दलभित्रको विवादलाई टेकेर दुवै पालिकामा जित निकाल्न सकेको एमालेका स्थानीय नेताहरुको विश्लेषण छ ।

रुपन्देहीबाट प्रदेश राजधानी दाङ लगेको जस पाएका पोखरेलले योबीचमा माओवादी नेता महरा निकटका प्रभावशाली नेताहरुलाई एमालेमा भित्र्याए र दुवै पालिकामा कांग्रेस–माओवादीबीचको अन्तरद्वन्द्वमा खेल्न सफल भए ।

दाङ एमाले महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, कांग्रेसका नेता दीपक गिरीलगायतका चर्चित नेताहरूको जिल्ला भएकाले पनि यहाँको चुनावी चर्चा बढी हुने गरेको छ ।

यसअघिको प्रदेश र संघीय निर्वाचनमा दाङको निर्वाचन क्षेत्र नम्बर २ मा तालमेल गरी चुनाव लडेका पूर्वसभामुख महरा र लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री पोखरेल यो चुनावमा आमने–सामने भएका थिए ।

दाङमा नेकपा एमालेको विरासत भत्काउन पाँच दलीय गठबन्धनले पूर्ण तयारी गरेका थिए । १० पालिका रहेको जिल्लामा दुई उपमहानगरबाहेक ८ पालिकामा भने कांग्रेस–माओवादीले जितेका छन् ।

घोराहीमा त अघिल्लोपटक एमालेका मेयरसँग बलियो प्रतिस्पर्धा गरेका कांग्रेसका उम्मेदवार भूपबहादुर डाँगी जित्ने पूर्णआशाले उपमेयरमा उठेका थिए ।
२०७४ सालको निर्वाचनमा एमालेका नरुलाल चौधरी २२ हजार ३ मत प्राप्त गरी निर्वाचित भएका थिए । नेपाली कांग्रेसका भूपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४८४ र नेकपा माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए ।

तर अहिले कांग्रेस माओवादीको दुवै मत जोड्दा र अन्य तीन साना दलको समेत गठबन्धनलाई साथ रहँदा एमालेलाई सजिलै हराउने आँकलन गठबन्धन दलको थियो । घोराहीमा एमालेबाट मेयरमा दोहोरिएका चौधरीले ३१ हजार ७२८ मत प्राप्त गरे । यसैगरी उपप्रमुखमा एमालेकै हुमाकुमारी डिसीले ३० हजार ४०३ मत प्राप्त गरेर विजयी भइन् । यहाँ नेकपा माओवादी केन्द्रका हेमराज शर्मा डायमण्ड प्रमुखमा र कांग्रेसका भुपबहादुर डाँगी उपप्रमुखमा चुनाव लडेका थिए ।

तुलसीपुर उपमहानगरपालिकामा एमालेबाट मेयर उम्मेदवार टिकाराम खड्का र उपमेयर स्यानी चौधरीले विजयी भएका छन् । गठबन्धनका तर्फका उम्मेदवार नेपाली काँग्रेसका गेहेन्द्र गिरी अघिल्लो निर्वाचनका समेत प्रत्यासी हुन् । गेहेन्द्रको पराजयले निकै मेहनत गरेर टिकट दिलाएका उनकै परिवारका सदस्य कांग्रेस नेता दीपक गिरीलाई चुनौती थपिएको छ ।

उपप्रमुखमा एमाले उम्मेदवार स्यानी चौधरीले गठबन्धनतर्फका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानालाई फराकिलो मतान्तरले पराजित गरिन् ।

आरोप–प्रत्यारोपमा गठबन्धनका दलहरु

दुवै उपमहानगरमा चुनाव जित्न असफल भएपछि कांग्रेस र माओवादी तथा तुलसीपुरमा उपमेयरको टिकट पाएको नेकपा एसका नेता कार्यकर्ताहरु आरोप–प्रत्यारोपमा उत्रेका छन् । पाँच दलीय गठबन्धन दाङका दुई उपमहानगरपालिकामा फेल भएको निष्कर्ष निकाल्दै एकले अर्कोलाई घात गरेको विषय सामाजिक सन्जालमा छताछुल्ल भएको छ ।

तुलसीपुरमा उपमेयर बनेका जोगबहादुर रानाले नेकपा एसको केन्द्रीय सदस्यबाट नै राजीनामा दिएका छन् । स्थानीयका अनुसार जहाँ एक्लाएक्लै प्रतिस्पर्धा भएको छ, त्यहाँ जित निकाल्न कांग्रेस सफल देखिन्छ । केही पालिकामा माओवादी र साना कम्युनिष्ट पार्टीबीचको तालमेल सफल देखिन्छ । तर उपमहानगरपालिकामा भने मतदाताले गठबन्धन नरुचाएको संकेत गरेका छन् ।

नेकपा एसले गठबन्धनबाट धोका भएको धारणा सार्वजनिक गरिसकेको छ । सो पार्टीका नेता मेटमणि चौधरीले कांग्रेस–माओवादीले गठबन्धनका सहयात्री दललाई नजरअन्दाज गरेको प्रतिक्रिया दिएका छन् ।

 

Comments

One response to “दाङमा महरामाथि पोखरेल हाबी, गठबन्धनलाई हराउँदै दुवै उपमहानगरमा एमाले जिताउन सफल”

  1. ksp pyl Avatar
    ksp pyl

    महरा मात्र हाेईन गठबन्धनका सबै पार्टीका अध्यक्षलाई हराउन सक्षम छन् पाेखरेल । बधाई छ शंकर पाेखरेललाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *