सोती हत्याकाण्डको दुई वर्ष पूरा, जात व्यवस्थाविरुद्धको ‘विद्रोह दिवस’ मनाइँदै

काठमाडौं । रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको हत्या हुने गरी नरसंहार भएको दुई वर्ष पुगेको छ । यसै सन्दर्भमा मंगलबार नागरिक समाज र अधिकारकर्मीले ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’ मनाउँदै छन् ।

बृहत् नागरिक आन्दोलनसहित विभिन्न संघसंस्थाले काठमाडौंको माइतीघरदेखि घटनास्थल भेरी किनारसम्म दबाबमूलक कार्यक्रमको आयोजना गरेका छन् । दलित समुदायमाथि भएको गम्भीर नरसंहारको सत्यतथ्य बाहिर ल्याउन, अपराधीलाई कारबाही गराउन र पीडितको न्याय सुनिश्चित गर्न माग गर्दै दबाबमूलक कार्यक्रम गर्न लागिएको हो ।

बृहत् नागरिक आन्दोलनले दिउँसो १२ बजे माइतीघर मण्डलामा जात व्यवस्थाविरुद्वको प्रतिरोधमा कविता वाचन, नाटक प्रदर्शन र खबरदारी सभा गर्दैछ । त्यस्तै कर्णाली थिएटरको संयोजनमा प्रतिरोध जनअधिकार आन्दोलन र बृहत् नागरिक आन्दोलनले संयुक्त रुपमा भेरी प्रतिरोध मार्च हुँदैछ । त्यसका लागि काठमाडौंसहित देशका विभिन्न जिल्लाबाट न्यायका लागि दबाब दिँदै अधिकारकर्मी भेरी किनार पुगेका छन् ।

मंगलबार साँझ पाटन दरबार क्षेत्रमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ । घटनामा दोषीलाई कारबाही गर्नुको सट्टा तोडमोड गरी सरकारले नै भवितव्य घटनाको रुपमा परिभाषित गर्ने दुस्साहस गरिरहेको पीडितको गुनासो छ । घटनामा आरोपित ३४ जनामध्ये ११ जना थुनामुक्त भइसकेका छन् भने २३ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

दुई वर्षअघि अर्थात २०७७ जेठ १० गते साँझ जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विश्वकर्मासहित लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीका गैरदलित समुदायको भीडले क्रूर हत्या गरेको थियो ।

नवराज र उनका साथीहरुले जातकै कारण ज्यान गुमाउन परेको २ वर्ष पुग्दासमेत सरकारले उचित न्याय दिन नसकेकोप्रति घोर विरोध गर्दै जात व्यवस्था उन्मूलन मोर्चा नेपालले पनि आज दोषीमाथि कडा कारबाहीको माग गर्दै देशव्यापी विरोध प्रदर्शन गर्दैछ ।
मोर्चाले जेठ १० लाई जात व्यवस्थाविरुद्धको विद्रोह दिवसको रुपमा मनाउँदै लैजाने मोर्चाका केन्द्रीय सदस्य एवं वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रुपा सुनारले नेपाल प्रेसलाई जानकारी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *