काठमाडौं । स्थानीय तह निर्वाचनको ठीक दुई महिनाअघि नेपाल नगरपालिका संघले आयोजना गरेको कार्यक्रममा विभिन्न विधागत आधारमा १० वटा नगरपालिका उत्कृष्ट ठहर गर्दै ती नगरका मेयरलाई पुरस्कृत गरिएको थियो ।
प्रधानमन्त्रीबाट पुरस्कृत भएकामध्ये चार वटा नगरपालिकाका मेयरले मात्र सम्बन्धित दलबाट पुनः टिकट पाए । ती चारमध्ये धादिङको नीलकण्ठ नगरपालिकाका भीम ढुंगानाबाहेक अन्य तीनजना उत्कृष्ट मेयर चुनावमा भने पराजित भए ।
स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिका संस्थागत विकासतर्फ उत्कृष्ट ठहर भएका थिए । वालिङका मेयर दीलिपप्रताप खाण र पुतलीबजारकी मेयर सीमा क्षेत्रीले उत्कृष्ट मेयरको अवार्ड पनि थापे ।
यसपटक पनि कांग्रेसले खाणलाई र एमालेले क्षेत्रीलाई पुनः उम्मेदवार बनाउँदा दुवैजना उत्कृष्ट मेयर आ-आफ्नो नगरपालिकामा पराजित भए । एमालेकी सीमा क्षेत्री कांग्रेसका तुलसीराम रेगमसँग करीव २४ सय मतान्तरमा पराजीत भइन् ।
कांग्रेसका दीलिपप्रताप पनि एमालेका कृष्ण खाणसँग करिब २२ सय मतान्तरले पराजित भए । यद्यपी यो नगरपालिकामा उपमेयर भने कांग्रेसकै कविता तिवारीले जितिन् । उत्कृष्ट मेयर पराजित हुनुको कारण कांग्रेसकै देउवा पक्षले रामचन्द्र पौडेल पक्षको अन्तर्घात भन्ने गरेको छ ।
अर्को मतदानकै दिन वालिङमा कांग्रेसका मतदाता बोकेको जीप दुर्घटना हुँदा मानवीय क्षति भयो र उनी त्यसको उद्धारमा लाग्नुपरेको कारण पनि पराजय भोग्नुपरेको कांग्रेसको भनाइ छ । त्यसो त पुतलीबजारमा सीमा क्षेत्रीको पराजयमा पनि एमालेभित्र टिकट वितरणकै विवाद मान्ने गरिएको छ ।
अर्का उत्कृष्ट मेयर ठहरिएका थिए हरिवनका गणेश प्रसाई । स्थानीय तहको आर्थिक विकासतर्फ उत्कृष्ट नगरपालिकाको मेयरको अवार्ड थापेका प्रसाई दोस्रोपटक उम्मेदवार बन्दा झिनो मतले पराजित भए ।
प्रसाई नेकपा माओवादी केन्द्रकाा रमेश बुढाथोकीसँग १५३ मतको अन्तरले पराजित भए । जबकी माओवादीले एउटा वडा पनि जितेको छैन । उपमेयरसहित बहुमत वडाध्यक्ष एमालेले जित्दा प्रसाई पार्टीभित्रकै अन्तर्घातले पराजित भए । यहाँ नेकपा एमाले विभाजनको असर पनि पर्याप्त देखियो ।
उत्कृष्ट नगरपालिकाको मेयरबाट अवार्ड पाएका इलामका महेश बस्नेत, तिलोत्तमाका वासुदेव घिमिरे र राप्तीकी प्रभा बराल यसपटक उम्मेदवार बनेन् । उनीहरू तीनैजना एमालेबाट निर्वाचित थिए ।
तर, इलाम र राप्ती एमालेले हारिसकेको छ भने तिलोत्तमाको मतगणना जारी रहँदा कांग्रेसले अग्रता लिएको छ ।

Leave a Reply