सन् २०२२ को सामाजिक न्यायका लागि दर्नाल पुरस्कार र सम्मान घोषणा

काठमाडौं । यस वर्षको ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’ (डीएएसजे) नेपालको समुदायमा आधारित कलासँग सम्बन्धित संस्था कर्णाली आर्टस् सेन्टर (केएसी) तथा संयुक्त राज्य अमेरिकामा रहेको दलित नागरिक अधिकारवादी संस्था इक्वेलिटी लायब्स (ईएल) लाई प्रदान गरिने भएको छ ।

दर्नाल पुरस्कार छनोट समितिले जातीय असमानता र विभेद अन्त्य गर्न प्रतिबद्धता, साहस र कल्पनाशीलताका लागि दलित नेतृत्वका दुई संस्थालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पुरस्कार विजेता दुवै संस्थालाई जुन ८, २०२२ अर्थात जेठ २५ मा आयोजना हुने समारोहमा प्रत्येकलाई २ लाख ५० हजार राशिसहित पुरस्कार प्रदान गरिने छ ।

समितिले सामाजिक न्यायको क्षेत्रमा क्रियाशील दलित समुदायका दुई व्यक्तित्व– लेखक तथा पत्रकार ध्रुवसत्य परियार र मानव बेचबिखनविरोधी अभियन्ता करुणा त्रिखत्रीलाई सन् २०२२ को सम्मान प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

जेठ २४ मा दर्नाल पुरस्कारले समाजशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, द न्यू स्कूल, न्यूयोर्क तथा इन्डियन इन्स्टिच्युट अफ दलित स्टडिज, नयाँ दिल्लीसँगको सहकार्यमा ‘नेपालमा दलित: आत्मसम्मान र समताको राजनीति’ विषयमा अन्तर्राष्ट्रिय विमर्शको आयोजना पनि गर्नेछ ।

दर्नाल पुरस्कार र सम्मान समारोह सरिता परियार ट्रस्ट फण्डले समता फाउन्डेसनसँगको सहकार्यमा सामाजिक न्यायका अगुवा सुभाष दर्नालको जीवन र सम्झनामा आयोजना गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *