काठमाडौं । एक युवतीले आफूमाथि यौन शोषण भएको भन्दै घटना विवरण बाहिर ल्याएपछि सामाजिक सञ्जालमा तरङ्ग आइरहेको छ । धेरैले उनीप्रति सहानुभूति दर्साएका छन् र न्यायको माग गरेका छन् ।
यस प्रकरणमा पूर्व मिस नेपाल माल्भिका सुब्बा पनि तानिएकी छन् । ती युवतीले आफूले माल्भिकासँग सहायताका लागि अनुरोध गर्दा उनले बेवास्ता गरेको आरोप लगाएकी थिइन् । यस विषयमा माल्भिकाले सामाजिक सञ्जालमार्फत लामो प्रष्टीकरण दिइसकेकी छन् ।
अहिले माल्भिकालाई गालीगलौज भइरहँदा तीन पूर्व मिस नेपालहरूले उनको प्रतिरक्षामा मुख खोलेका छन् । उनीहरूले माल्भिकाबाट कमजोरी भए पनि सबै दोष उनीमाथि थोपर्न नहुने बताएका छन् ।
साथै दुई नायिकाहरू केकी अधिकारी र पूजा शर्माले पनि पनि यो विषयमा मुख खोलेका छन् । हेरौँ कसले के लेखे ?
श्रृङ्खला खतिवडा
उहाँ (माल्भिका) गलत हुनुहुन्थ्यो । उहाँ एक नारीवादी अभियन्ता भएकाले धेरै महिलाहरूको अधिकार र सुरक्षाको कुरा आउँछ, यो अर्को तहमा गलत थियो । तर, म एक जनामाथि दोष केन्द्रित गर्ने र दोषारोपण गर्ने प्रवृत्तिमा योगदान दिन चाहन्न ।
उहाँलाई अनफलो गर्नुहोस्, घृणा गर्नुहोस्, अपमान गर्नुहोस्, तर उहाँमाथि नै सबै दोष नथुपार्नुहोस् । सबै दोष उहाँमाथि लगाउनु उहाँको लागि अन्याय हो ।
यसले दुर्व्यवहार गर्नेलाई मात्र फाइदा हुन्छ । यसले समस्या समाधान गर्न कतै पनि मद्दत गर्दैन । यहाँ व्यक्तिको खराब नैतिक निर्णय भन्दा पीडितको समस्या ठूलो छ ।
यस केसमा पीडितले औँल्याएको मानिसदेखि लिएर धेरै व्यक्तिहरू थिए जसले त्यति बेला सही समयमा पीडितलाई यो दलदलबाट निकाल्न सक्थे । जस्तै उनको परिवार, साथी–सहकर्मी, मालिक, साझेदार र सल्लाहकार आदि । सबैले उनलाई मद्दत गर्न सक्थे ।
जेनिशा मोक्तान (मिस नेपाल २००९)
हामी त्यस चिजबाट नै निराश हुन्छौं जसबाट हामीले उच्च अपेक्षा राखेका हुन्छौं । तपाई (माल्भिका)ले सधैँ आफ्नो स्ट्यान्डर्ड सेट गर्नुभएको छ, त्यसैले तपाईँबाट सबैको अपेक्षा उच्च छ । आफूले आफूलाई कमजोर नबनाउनु दिदी । तपाईँले अनगिन्ती महिलाहरूलाई सशक्त बनाउनुभएको छ, समर्थन गर्नुभएको छ । र तपाईँलाई तल झार्नु कुनै अर्को महिलालाई समर्थन गर्ने तरिका होइन । धेरै माया ।
सीताश्मा चन्द (मिस नेपाल २००७)
मलाई लाग्दैन कि उनले पोस्टमा उल्लेख गरेको र उनले भोगेका सबै कुराको लागि तपाईँ जिम्मेवार हुनुहुन्छ ।
तर यो सत्य हो कि तपाईँ उनले भोगेको पीडाहरूमा र उनको यात्रामा एउटा अभिन्न हिस्सा बन्न सक्नुहुन्थ्यो ।
दुर्भाग्यवश तपाईँ हुन सक्नुभएन । तपाईँले स्पष्ट रूपमा आफ्नो अफसोस व्यक्त गर्नुभएको छ ।
हामी सबैले कहीँ न कतै गल्ती गरेका छौँ । जिम्मेवारी स्वीकार गर्ने, माफी माग्ने र सकेसम्म यसलाई ठिक गर्न प्रयास गरौँ । तपाईँले दशकौँदेखि कति मानिसहरूलाई प्रेरित, उत्प्रेरित र मद्दत गर्नुभएको छ, त्यो हामी बिर्सन सक्दैनौँ । एउटा गल्तीले तपाईँले गर्नुभएका र हासिल गर्नुभएका अरू सबै कुरालाई ढाक्न सक्दैन र ढाक्नु पनि हुँदैन । तपाईँलाई शक्ति मिलोस् ।
पूजा शर्मा
हे भगवान् । यो एक जना पीडितमाथि मात्र हुने शारीरिक हिंसा होइन, यो सम्पूर्ण मानवतामाथिको आक्रमण हो । उनी बलियो छिन् किनकि उनले आफूमाथि भएको दुर्व्यवहारलाई निडर भएर पोखिन् ।
म देख्न सक्छु कि उनी डरको बाबजुद पनि कडा रूपमा प्रस्तुत भइन् । तिमी पाइला चाल । हामी तिम्रो साथमा छौँ । उसको तुच्छ कामलाई सबैमाझ देखाउनै पर्छ ।
केकी अधिकारी
महिला संयन्त्र, पुलिस, अदालत, खबरदार । काम सुरु गर । किशोरीले हिम्मतका साथ सार्वजनिक गरेको बलात्कार र यौन शोषणका घटनामा राज्यको सरोकारवाला हरेक अंगहरु जबाफदेही हुनु पर्छ ।
वर्चस्वशाली व्यक्तिले किशोरीहरूमाथि गरेको जघन्य अपराधको छानबिन गर्ने र न्याय दिलाउने उचित संरचना बनाउनु पर्छ ।
सम्पूर्ण चेतनशील र संवेदनशीलहरू पीडितलाई न्यायपूर्ण सहज जीवनका लागि सहयात्री बन्दा मात्र यो काम हुनसक्छ ।
हुन त, यो व्यवस्थाले दिने न्यायमा, पूर्ण भरोसा छैन, तर पनि अहिले भएकै संरचनाबाट न्यायको माग गर्ने तत्कालका लागि सही विकल्प हो ।

Leave a Reply