काठमाडौं । ओखलढुंगामा नेपाली कांग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् । जिल्लाको चिसंखुगढी गाउँपालिका- ३ को गणनाको क्रममा वडाअध्यक्षका उम्मेदवारको बराबर परिणाम आएपछि पुनः गणना गर्नेक्रममा मतपत्र च्यातिएको हो ।
कांग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना नेतृत्वका कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणनास्थल तनावग्रस्त भएको छ । मतपत्र च्यात्ने कार्यमा संलग्न सचिव ढुंगानासहितका कांग्रेसका कार्यकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख डीएसपी सुकदेव खनालले नेपाल प्रेसलाई बताए ।
‘घटनाको थप अनुसन्धान गरिरहेका छौं, विस्तृत विवरण आउन बाँकी छ’, खनालले भने ।
चिसंखुगढीमा माओवादी-कांग्रेसको तालमेल छ । पालिकामा गठबन्धन विजयी भइसकेको छ । वडानम्बर ३ मा माओवादी र कांग्रेसकै वडाअध्यक्षको उम्मेदवारको मत बराबरी आएपछि पुनः मतगणना थालिएको थियो । अहिले मतगणना रोकिएको छ ।

Leave a Reply