काठमाडौं । स्थानीय निर्वाचनका लागि देशभर मतदान जारी रहँदा विभिन्न स्थानमा विवाद र मुठभेड भएका समाचारहरू पनि आइरहेका छन् । यसलाई लिएर सामाजिक सञ्जालमा कतिपय भ्रामक पोस्टहरू भाइरल भइरहेका पाइएको छ ।
नेपाल टेलिभिजनकी पूर्व समाचारबाचिका रमा सिंहले ‘कोभन्दा को कम…काभ्रे’ भन्दै आज एउटा तस्बिर फेसबुकमा सेयर गरिन् । उक्त तस्बिरमा सारी लगाएकी एक महिलाले पुरुषलाई जोडदार रूपमा फ्लाइङ किक हानेको देखिन्छ । रमा सिंहको यो पोष्टलाई १२६ जनाले सेयर गरेका छन् । सबैले यसलाई सत्य घटना ठानेर पत्याएका पनि छन् ।
चर्चित फेसबुक ग्रुप ‘राजसंस्था पुनर्स्थापना संघर्ष समिति’ मा पुकार अर्याल नाम गरेका व्यक्तिले पनि ‘दोलखाको मतदानस्थलमा कांग्रेस भर्सेस माओवादी’ भन्दै यही तस्बिर सेयर गरेका छन् ।

यस्तै, फेसबुक पेज ‘ग्यालेक्सी फोर के टिभी–रवि लामिछाने’ मा रमेश भट्ट नाम गरेका व्यक्तिले ‘जब मतदानस्थलमै फाइट परेपछि एक महिलाले देखाइन् आफ्नो शक्ति’ भन्दै सेयर गरेको यही तस्बिरलाई २४ सयभन्दा बढीले लाइक गरेका छन् भने ९५ सेयर भएको छ ।
यो तस्बिर अरू पनि थुप्रै ग्रुप र पेजहरूमा सेयर भइरहेको छ । तर, यो तस्बिरमा देखिएको दृश्य कुनै मतगणना स्थलको होइन । न त वास्तविक नै हो । खासमा ‘उकुसमुकुस’ नामक टेलिशृंखलाको ११ औँ भागबाट यो स्क्रिन सट लिइएको हो ।

माग्ने बुढाको युट्युब च्यानल आमा अग्नि कुमारीबाट प्रशारण हुने गरेको यो सिरियल केही समयदेखि बन्द छ । पछिल्लो एपिसोड जनवरी २९ मा प्रशारण भएको थियो । उक्त एपिसोडले ५४ लाख भन्दा बढी भ्युज पाएको थियो । त्यसैको एक दृश्य स्क्रिन सट गरिएको हो ।
तस्बिरमा किक हान्ने साहसी भनिएकी महिला वेदना राई र कुटाई खाने व्यक्ति दीपेन्द्र प्रसाईँ हुन् ।
नेपाल प्रेससँग कुराकानी गर्दै दीपेन्द्रले सामाजिक सञ्जालमा आफ्नो तस्बिर त्यसरी प्रयोग भएको देखेर आश्चर्यचकित भएको प्रतिक्रिया दिए ।

Leave a Reply