काठमाडौं । कुवेतस्थित जजीरा एयरवेजले रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि आफ्नो उडान सेवा सुरु गर्ने घोषणा गरेको छ । जजीराले घोषणा गरेअनुसार यही जेठ १ गते उसको जहाज राजधानी कुवेत सिटीबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।
यसअघि काठमाडौं–कुवेत सिटी उडान भर्दै आएको जजीराका जहाजले जेठ १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान भर्ने भएको हो ।
नेपालस्थित कुवेती राजदूतावासले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै जजीराको उडान तालिकासमेत सार्वजनिक गरेको छ । जसअनुसार सातामा तीन दिन कुवेत सिटीबाट गौतम बुद्ध र बाँकी तीन दिन गौतम बुद्धबाट कुवेत सिटीका लागि जहाज उड्नेछन् ।
दूतावासले जनाएअनुसार आइतबार, मंगलबार र बिहीबार कुवेत सिटीबाट गौतम बुद्ध र सोमबार, बुधबार र शुक्रबार गौतम बुद्धबाट कुवेत सिटीका लागि जहाज उड्नेछन् । कुवेत सिटीबाट उडेको जहाज गौतम बुद्धमा बिहान १ः४५ बजे पुग्नेछ भने गौतम बुद्धबाट बिहान २ः३० बजे उड्ने उडान तालिका सार्वजनिक गरिएको छ ।
दूतावासले नेपालमा जजीराको दोस्रो उडान सेवाले मध्यपूर्वमा बस्ने नेपालीहरुको ठूलो समुदायलाई नेपालको दक्षिण पश्चिम क्षेत्रमा प्रत्यक्ष जोड्न सकिने बताएको छ । त्यस्तै वैदेशिक रोजगारी तथा अन्य प्रयोजनले खाडी मुुलुक प्रवेश गर्ने नेपालीहरु यस उडानले सहज हुने उसले उल्लेख गरेको छ ।
‘शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न चाहने तीर्थयात्री र पर्यटकहरुको लागि समेत थप सहज हुनेछ’, दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ ।


Leave a Reply