ठूला नेतालाई ‘टेस्ट बम’ हानेको झण्डै ठोकुँला जस्तो गरे : लिङ्देन

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला पार्टी (कांग्रेस–एमाले–माओवादी) का नेताहरू सुध्रिने पक्षमा नरहेको बताएका छन् ।

राप्रपा मकवानपुरले आज हेटौँडामा गरेको आमसभालाई संबोधन गर्दै नेता लिङ्देनले वर्षौदेखि सत्ताको स्वाद चाखेका दलहरूको बाकस खाली नगरेसम्म ती दलका नेताहरूको मानसिकतामा कुनै परिवर्तन नआउने दाबी गरे ।

उनले भने ‘म राप्रपा अध्यक्ष भएपछि नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा भाषण गर्न गएको थिए, मञ्चमा सबै ठुला पार्टीका प्रमुख नेता देखेपछि दिमागमा एउटा कुरा के आयो भने यी नेताहरू सुध्रे भने त देश विकास हुन कति समय पनि लाग्दैन, अनि मैले एउटा ‘टेस्ट बम’ हानेर गाउँमा आजकल को नेता आएछन् भन्नुको सट्टा को चोर आएछ भन्छन् भनेको त मलाई मञ्चमै ठोकुँला जस्तो गर्नु भो ।’

ठूला दलका नेताहरूलाई कान समातेर उठबस गर्न लगाएर सुधार्न नसकिने भन्दै अध्यक्ष लिङ्देनले भने ‘यदि उहाँहरूलाई सुधार्ने हो भने आउँदो निर्वाचनमा उहाँहरूको बाकस खाली गर्दिनु, उहाँहरू सुध्रिनुहुन्छ ।’

स्थानीय निर्वाचनमा राप्रपाले जितेको स्थानमा विकासको मुहान फुट्ने तथा भ्रष्ट्राचार र कमिसनको खेल बिनापनि विकास हुन्छ भनेर देखाउने काम गर्ने भन्दै उनले यो पटक राप्रपाको पक्षमा मतदान गर्न अनुरोध गरे ।

हेटौँडाको सन्दर्भमा राप्रपालाई जहिल्यै दोस्रो बनाउने नागरिकले यो पटक पहिलो बनाउने कुरामा आफू ढुक्क रहेको उल्लेख गर्दै लिङ्देनले दीपक सिंहको नेतृत्वको नगर कस्तो हुन्छ भनेर हेर्नको लागि आम नागरिकले एक पटक ‘हलो’ मा मतदान गर्न अनुरोध गरे ।

देशमा कम्युनिस्ट र कांग्रेसले भ्रष्ट्राचारलाई प्रोत्साहन गरेको भन्दै राप्रपाले भ्रष्ट्राचार उन्मुलनको महान् उद्देश्य बोकेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *