कांग्रेस प्रवेशपछि श्वेता खड्का भन्छिन्- असल कार्यकर्ताका रूपमा मन, वचन र कर्मले पार्टीमा योगदान दिनेछु

काठमाडौं । आज नेपाली कांग्रेसमा औपचारिक प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले आफ्नो पारिवारिक पृष्ठभूमि र बिपी कोइरालाको प्रभावका कारण यो पार्टी रोजेको प्रष्टीकरण दिएकी छन् । कुनै लाभको आशामा नभई विशुद्ध सेवाको भावना बोकेर कांग्रेसमा काम गर्ने उनको भनाइ छ ।

फेसबुकमा लामो स्टाटस लेख्दै श्वेताले पार्टी प्रवेशबारे स्पष्टीकरण दिएकी हुन् । यो निर्णय लिनुअघि आफूले धेरै पटक विचार गरेको भन्दै उनले पार्टीमा स्थान दिएकोमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आभार प्रकट गरेकी छन् ।

श्वेताले लेखेकी छन्, ‘राजनीति विशुद्ध ‘सामाजिक सेवा’ को क्षेत्र हो न कि ‘व्यावसायिक पेसा’ । राजनीतिलाई कमाई गरी खाने माध्यमको रूपमा प्रयोग गरी अकुत सम्पत्तिको आर्जनमा लिप्त हुने भ्रष्ट राजनीतिज्ञहरूलाई विस्थापित गराउनको निमित्त अब हामी आफू पनि अग्रसर हुनु पर्ने आवश्यकता महसुस गरेकी छु ।’

कुनै पनि राजनैतिक दलको संस्थागत सिद्धान्त खराब नहुने तर त्यो सिद्धान्तलाई कार्यान्वयन गर्ने केही नेतृत्वकर्ता खराब हुन सक्ने श्वेताको टिप्पणी छ ।

‘मैले आफ्नो राजनैतिक सक्रियताको लागि भने नेपाली काँग्रेशलाई चुनेकी छु । मेरो पारिवारिक पृष्ठभूमिले पनि मलाई नेपाली कांग्रेसको सिद्धान्तलाई अंगाल्न सहयोग पुगेको हो ।’ उनले भनेकी छन्, ‘विगतका दिनमा मैले यो पार्टीको लागि व्यक्तिगत रूपमा त्यस्तो ठुलो योगदान दिन सकेकी छैन । आगामी दिनमा भने म मेरो मन बचन र कर्मले भ्याए सम्मको योगदान दिने प्रयास गर्नेछु ।’

नेपाली कांग्रेशको नीति, सिद्धान्त र यसको मूल्य मान्यतालाई आत्मसात् गर्दै कुनै व्यक्तिगत स्वार्थबिना आफूलाई एउटा असल कार्यकर्ताको रूपमा चिनाउने उनको प्रतिबद्धता छ ।

साथै, एउटा कलाकार र व्यवसायी पनि भएको नाताले यस दलभित्र रहेर तमाम व्यवसायी र कलाकर्मीहरूको हक हितको निमित्त आफ्नो आवाज बुलन्द गने उनले बताएकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *