मध्यपुर थिमि मेयरका लागि ज्वाइँ-जेठानको प्रतिस्पर्धा, कसले मार्लान् बाजी ?

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा ज्वाइँ–जेठान एउटै पदमा चुनावी मैदानमा उत्रिएका छन् । उनीहरु फरक फरक पार्टीबाट मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

एमालेका प्रमुख उम्मेदवार मदनसुन्दर श्रेष्ठ ज्वाइँ हुन् भने नेपाली कांग्रेसका सत्ता गठबन्धनको साझा प्रमुख उम्मेदवार सुरेन्द्र श्रेष्ठ जेठान हुन् । सुरेन्द्र मदनसुन्दरका माइलो जेठान हुन् भने मदनसुन्दर सुरेन्द्रकी बहिनी ज्वाइँ । सुरेन्द्रकी बहिनी एवं मदनसुन्दरकी श्रीमती हुन् सुजाता श्रेष्ठ ।

मदनसुन्दर मध्यपुर थिमि नपाका निवर्तमान प्रमुख हुन् । पार्टीबाट पुनः प्रमुखको टिकट पाइने भएपछि उनले राजीनामा दिएका थिए ।

कसले मार्ला बाजी ?

२०७४ सालमा भएको निर्वाचनमा मध्यपुर थिमिमा एमाले र नेपाल मजदुर किसान पार्टीले तालमेल गरेका थिए । चुनावी तालमेलबाट एमालेका प्रमुख उम्मेदवार मदनसुन्दर निर्वाचित भए तर नेमकिपाका उपप्रमुख उम्मेदवार केदार खड्का पराजित भए । तालमेलबीच उपप्रमुखमा आफ्नो उम्मेदवार हारेपछि नेमकिपाले चुनावी गठबन्धन गर्ने केही नेताहरुलाई कारबाहीसमेत गरेको थियो ।

यसपटक एमाले एक्लै चुनावमा होमिएको छ । मध्यपुरमा राप्रपा नेपालले आफ्नो उम्मेदवारी नदिएकाले उसले एमालेलाई नै सघाउने सम्भावना छ । तर, यहाँ राप्रपा नेपालभन्दा बलियो राप्रपाले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएको छ ।

एमालेसँग तालमेल गरेको नेमकिपाले आफ्नो छुट्टै उम्मेदवारी दिएको छ । यसले गर्दा कांग्रेसभन्दा कमजोर एमालेका उम्मेदवार मदनसुन्दरले दोस्रोपटक बाजी मार्ने सम्भावना कम रहेको मध्यपुर थिमिका कांग्रेस नेताहरु बताउँछन् ।

‘त्यसमाथि एमाले विभाजितसमेत भएको छ’, ती नेताले भने, ‘मध्यपुरमा एमालेका प्रभावशाली नेता एवं प्रदेशसभा सदस्य राजेन्द्रमान श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा हुनुहुन्छ । यस पनि हिजोको जीत दोहोर्‍याउन मदनसुन्दरलाई सजिलो छैन ।’

२०७४ सालमा मदनसुन्दरले नेपाली कांग्रेसका अष्टकुमार कवेलाई पराजित गरेका थिए । अष्टकुमारले १०,८४६ मत ल्याउँदा मदनसुन्दरले १४,००० मत पाएका थिए ।

कांग्रेसको अन्तरघातले गर्दा अष्टकुमारले पराजय भोग्नुपरेको थियो । प्रमुखमा पराजित कांग्रेसले यहाँ उपप्रमुखसहित ६ जना वडा अध्यक्ष जितेको थियो । जबकि एमालेले नेमकिपासँगको साँठगाँठमै एकजनामात्र वडा अध्यक्ष जितेको थियो ।

कांग्रेस एकजुट र गठबन्धनको साथ

यसपटक मध्यपुरमा कांग्रेस एकजुट भएको दावी गरिएको छ । त्यसमाथि सत्ता गठबन्धनको साथ रहेको छ कांग्रेसलाई । यहाँ कांग्रेसले प्रमुखसहित नौवटै वडाको अध्यक्ष आफूलाई राखेको छ । उपप्रमुख र केही वडा सदस्य माओवादीको भागमा परेको छ । एकीकृत समाजवादी र जसपाले भने केही वडा सदस्य पाएका छन् ।

पार्टीले सुरेन्द्र श्रेष्ठलाई प्रमुखको टिकट दिएपछि भएको कार्यक्रममा मध्यपुर थिमिमा क्रियाशील कांग्रेसको गुट र गुटिकाका सम्पूर्णजसो नेताहरुको उपस्थिति थियो । उक्त कार्यक्रममा सहभागी सबै गुट र गुटिकाका नेताहरुले एक भएर यसपटक कांग्रेस नेतृत्वको गठबन्धनलाई जिताउने प्रतिबद्धता जनाएका थिए ।

यहाँ कांग्रेसभित्र सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा शशांक कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा गगन थापाको छुट्टाछुट्टै गुट सक्रिय रहेका छन् । यहीं गुटका कारण कांग्रेसको दुईतिहाइभन्दा बढी कार्यपालिका सदस्य रहेको मध्यपुर थिमि नगरपालिकामा कांग्रेसको भूमिका कमजोर भएको थियो । कांग्रेसभित्रको गुट र विभाजनकै कारण नगर प्रमुख मदनसुन्दरले कहिले अष्टकुमार पक्षीय त कहिले तत्कालीन नगर सभापति एवं अहिले नगर प्रमुख उम्मेदवार सुरेन्द्र पक्षीय कार्यपालिका सदस्यहरुलाई साथमा लिएर आफ्नो एकलौटी निर्णय र योजना कार्यान्वयन गरेका थिए ।

कांग्रेसका प्रमुख उम्मेदवार सुरेन्द्र संस्थापन पक्षका हुन् । उनी भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाको रोजाइका व्यक्ति पनि हुन् । यसअघिका मेयर उम्मेदवार अष्टकुमार प्रकाशमान सिंह पक्षधर हुन् । यसपटक पनि अष्टकुमार नै मध्यपुर थिमिको प्रमुख उम्मेदवार हुने धेरैको अनुमान थियो । उनले उम्मेदवार हुने आकांक्षा पनि देखाएका थिए । तर, काठमाडौँ महानगरपालिकामा प्रकाशमानकै श्रीमती सिर्जना सिंहले प्रमुखको टिकट पाएपछि मध्यपुरमा अष्टकुमारको भाग खोसिएको बताइन्छ ।

कांग्रेस बलियाे, तर…….

मध्यपुर थिमिका एक सञ्चारकर्मी यहाँ कांग्रेस नै पहिलो स्थानमा रहेको दावी गर्छन् । तर निर्वाचनको मत परिणाम नआएसम्म कसले जित्छ भन्न नसकिने उनको भनाइ छ ।

‘२०७४ सालको निर्वाचन ताका पनि कांग्रेस नै पहिलो थियो । एमाले र नेमकिपा मिल्दा पनि कांग्रेसलाई भेट्टाउन हम्मेहम्मेको स्थिति थियो’, उनले भने, ‘तर, परिणाम उल्टो आयो । यसपटक पनि केही भन्न सकिन्न ।’

यता केही उम्मेदवारहरुले हाकाहाकी यति करोड र उति करोड खर्च गरेर जित्छु भनिरहेकाे मध्यपुर थिमिका मतदाताहरु बताउँछन् । अघिल्लो पटक घटनाले पनि यसपटक जसले बढी मत किन्नसक्छ, उसैले नतिजा आफ्नो पक्षमा पार्ने उनीहरु बताउँछन् ।

तर, मध्यपुर थिमिकै मतदाता रमेश प्रजापति भने मतदाताहरु सचेत भइसकेकाले हिजोजस्तो पैसा खर्च गरेर, भोज खुवाएर चुनाव जित्ने दिन गएको बताउँछन् । उनले उम्मेदवारले प्रस्तुत गर्ने एजेन्डाका आधारमा मतदाताहरुले मत दिने बताउँछन् ।

‘जसले नगरवासीको आवश्यकता र माग सम्बोधन गर्छ, उसले मत पाउने हो । दलीय हिसाबले मत दिने र पाउने अलग्गै कुरा हो’, प्रजापतिले भने, ‘तर पैसा खर्च गरेरै मत किन्ने र त्यही मतले निर्वाचन जित्ने भए, जितेका उम्मेदवारले भोलि त्यो पैसा कसबाट र कसरी उठाउँछ भनेर मतदाताहरुले अहिल्यै ध्यान पो दिने हो कि ?’

मध्यपुरमा ४१ हजार ८४२ जना मतदाता रहेका छन् । जसमा पुरुष २० हजार ५३०, महिला २१ हजार ३०८ र अन्य ३ जना रहेका छन् ।

Comments

One response to “मध्यपुर थिमि मेयरका लागि ज्वाइँ-जेठानको प्रतिस्पर्धा, कसले मार्लान् बाजी ?”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    सम्पादक पत्रकार ज्यु यो लेखाइ एकपक्षीय देखिन्छ मध्यपुर थिमिमा ज्वाइँ या जेठान जो जिते पनि थोरै मतको अन्तरमा हारजीत हुन्छ ,तपाईंले पत्रकारको धर्म निभाउनु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *