आचारसंहिता उल्लंघन गर्ने मन्त्रीमाथि कारबाही सुरू, कांग्रेस जिल्ला सभापतिलाई स्पष्टिकरण

कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा आयोगमा उजुरी परेको छ ।

उनी नेपाली कांग्रेस डडेल्धुराले अमरगढी नगरपालिकाका विभिन्न वडाहरूमा आयोजना गरेको चुनावी आमसभामा सहभागी भएका थिए ।

अमरगढीमा कांग्रेसबाट नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकाल उम्मेदवार छन् । डडेल्धुरा प्रदेश ‘ख’ बाट प्रदेश समानुपातिक सांसद बोहरा गत महिना मन्त्री बनेका थिए ।

निर्वाचन आचारसंहिता अवज्ञा गरेको भन्दै सर्वसाधारणले चुनावी प्रचारको तस्बिर र भिडिओसहितको प्रमाणका आधारमा मन्त्री बोहराविरुद्ध उजुरी दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराका सूचना अधिकारी पुष्पराज जोशीका अनुसार उजुरी दर्ता गरी जिल्ला सभापति भीमबहादुर साउदलाई मौखिक स्पष्टिकरण समेत सोधिएको छ ।

‘हामीले उजुर दर्ता गरी जिल्ला पार्टी सभापतिलाई समेत मौखिक स्पष्टिकरण सोधेका थियौँ उहाँले फेरी आचारसंहिताको उल्लंघन नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो’ सूचना अधिकारीले भने ‘फेरि यस्तो भए हामी थप कारबाही प्रक्रिया बढाउँछौँ ।’

स्थानीय तह निर्वाचन २०७९ प्रयोजनका लागि जारी भएको आचारसंहितामा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने उल्लेख गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *