इदको बिदा भोलि कि पर्सी ? आयोग भन्छ- चन्द्रमा हेर्दैछौं

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूको पवित्र चाड इदको अवसरमा भोलि बिदा दिनेबारे निर्णय भई नसकेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मुस्लिम आयोगबाट आउने सिफारिसका आधारमा निर्णय लिइने छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले आइतबार साँझसम्म बिदाबारे निर्णय नभएको जानकारी दिए ।

‘मुस्लिम आयोगबाट कुनै जानकारी आएको छैन । आए लगत्तै निर्णय हुने छ,’ पोखरेलले भने ।

मुस्लिम आयोगका सूचना अधिकारी दयाराम तिवारीले आइतबार चन्द्रमा देखिए सोमबार सार्वजनिक बिदा हुने बताए ।

उनले भने, ‘हाम्रो समितिले आज चन्द्रमा देखिन्छ कि देखिँदैन भनेर हेरिरहेको छ । आज चन्द्रमा देखियो भने भोलि बिदा दिन गृह मन्त्रालयलाई पत्र लेख्ने छौँ । भोलि देखियो भने पर्सी बिदा हुन्छ,’ तिवारीले भने ।

इस्लाम धर्मावलम्बिहरुले मनाउने इदका अवसरमा सार्वजनिक बिदा दिने भनेर राजपत्रमा नै प्रकाशित भइसकेको छ । त्यसैले यो निर्णय मन्त्रिपरिषद्बाट गरिराख्नु पर्दैन ।

मुस्लिम आयोगले गर्ने सिफारिसका आधारमा गृह मन्त्रालयले निर्णय लिन सक्छ । तर, आयोग आज साँझसम्म पनि अनिर्णीत हुँदा भोलिको बिदाबारे अन्योल कायम छ ।

चैत महिनामा बसेको मन्त्रिपरिषद् बैठकले २०७९ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्ष भरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक पर्व एव सट्टा बिदा कार्यालय समय राजपत्रमा प्रकाशित गरेको थियो ।

राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीको पर्व इद (इद उल अजहा) का दिन र इस्लाम धर्मावलम्बीको पर्व नै इद (इद उल फित्र) का दिन बिदा दिने उल्लेख गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *