आचारसंहिता विपरीतका निर्वाचन सामग्री आयोगको अनुगमन टोलीले गर्‍यो जफत

काठमाडौं । काठमाडौंको केही ठाउँमा स्थलगत अनुगमन गरी राजनीतिक दलको झण्डा तथा निर्वाचन आचारसंहिता विपरीत हुने सामग्री निर्वाचन आयोगको अनुगमन टोलीले जफत गरेको छ ।

आयोगका शाखा अधिकृत सुरज पोखरेलको नेतृत्वमा शनिवार गएको टोलीले चुनावी सामग्री जफत गरेको हो ।

आयोगको अनुगमन टोलीले काठमाडौंको रत्नपार्क, बागबजार, पुतलीसडक, टुँडिखेल, शहिदगेट, भोटाहिटी, घण्टाघर क्षेत्र वरिपरि शनिवार स्थलगत अनुगमनका क्रममा उक्त सामग्री जफत गरेको आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

अनुगमनका क्रममा सार्वजनिक स्थलमा रहेका राजनीतिक दलका झण्डा तीन सय थान, सोही क्षेत्रका विभिन्न पसलमा राखिएका दलका निर्वाचन चिह्न अङ्कित क्याप दुई सय थान, झोला करिब एक सय थान, टीसर्ट १० थान, दलको ब्यानर ३ थान जफत गरेको छ ।

राजनीतिक दलका कार्यकर्ताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सूचना आयोगलाई प्राप्त भएपछि त्यस क्षेत्रमा आयोगको अनुगमन टोली स्थलगत अनुगमन गरेको थियो । अनुगमनको काम जारी रहने आयोगले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *