झण्डा बनाउने कलाकारका दु:ख- चुनाव हार्नेले पैसा नै दिँदैनन् (भिडिओ)

काठमाडौं । विजयकुमार कार्कीले बागबजारमा एभरेस्ट आर्ट चलाउन थालेको ३५ वर्ष भयो । स्थानीय तहको चुनावको माहोल गर्माएदेखि नेता–कार्यकर्ताजस्तै उनलाई पनि भ्याई–नभ्याई छ । विभिन्न राजनीतिक दलको चुनाव चिन्ह अंकित झण्डा बनाउन व्यस्त छन् उनी ।

निर्वाचन आयोगको आचारसंहिता लागू हुनुअघि उनी झन् बेफुर्सदी थिए । पछिल्ला दिनमा भने काम अलि खुकुलो भएको थियो ।

उनी भन्छन्, ‘चुनाव आएपछि अहिले ठिकै–ठिकैजस्तो व्यस्त छु । योभन्दा अगाडि अलि बढी प्रेसर थियो । बीचमा निर्वाचन आयोगले आचारसंहिता लागू गरिसकेपछि काम घट्यो । अहिले फेरि माग बढ्न थालेको छ ।’

विगतमा चुनाव आउने बेलामा आर्टिस्टहरुका लागि दशैजस्तो माहोल हुन्थ्यो । पद्मकन्या क्याम्पसका भित्ताहरु कतै खाली हुन्थेनन् । यत्रतत्र ब्यानरले ढाक्थ्यो । ठुलाठुला ब्यानरहरु लेखिन्थे । हजारौ कलाकारहरुले काम पाउँथे । अहिले निर्वाचन आयोगले कडाइ गरेसँगै व्यवसाय खुम्चिदै–खुम्चिदै गइरहेको छ ।

पहिलाको तुलना अहिले झण्डा बनाउने धेरै नै घटेको कार्कीको बुझाइ छ । झण्डाको माग घट्नुमा आयोगले राखेको नियम पनि कारक हुनसक्ने उनले बताए । सार्वजनिक ठाउँमा राख्न डराउने भएकाले माग घटेको उनको अनुमान छ ।

हालसालै मात्र आयोगले १२/१८ भन्दा माथिको झण्डा बनाउन नपाउने र सार्वजनिक स्थानमा राख्न नपाउने नियम बनाएको छ । यसले पनि माग घटेको हो । पाँच वर्षअघि स्थानीय तहको चुनावमा जुन उत्साह थियो । अहिले त्यो उत्साह नभएको व्यवसायीहरु बताउँछन् ।

व्यवसायीका अनुसार कांग्रेस, राप्रपा, एकीकृत समाजबादी पार्टीको झण्डा बनाउन अलि मंहगो पर्छ । कपडामा दुई तीन प्रकारका रंग प्रयोग गर्नुपर्ने भएकाले मंहगो परेको हो । एउटै रंगको झण्डा बनाउँदा ४ रुपैयाँसम्म सस्तो पर्छ । खर्च अनुसारको मूल्य भने पहिलाको तुलनामा धेरै कम भएको कार्की बताउँछन् ।

उनले भने, ‘अहिले कपडाको दाम एकदमै बढेको छ । हामीले आजभन्दा दुई महिनाअघि लिनु र अहिले लिनु गजमा २० रुपैयाँजति महंगो पर्छ । तर मूल्य चाहिँ घटेको छ ।’

डिजिटल मिडियाले गरेर सप्लायरहरु पनि झण्डा बनाउन थालेका छन् । यसअघि यो काम कलाकारहरुले मात्रै गथ्र्थे । अहिले विभिन्न डिजिटल मिडिया, सोसल मिडियामा सस्तोमा झण्डा पाइन्छ भनेर प्रचार गर्दा कलाकारको व्यापार घटेको छ ।

सप्लार्यसहरुले झण्डा बनाउन अरु कपडा र चाइनिज मटेरियलहरु प्रयोग गर्छन् । प्रेसमा छाप्ने काम पनि भएकाले झण्डाको दाम निकै घटेको छ । तर झण्डा बनाउन चाहिने कपडाको मूल्य भने बढेको छ ।

कार्की भन्छन्, ‘हामीले दुई हजारजति हातेप्रिन्ट गरिराखेका छौं । यो एकदमै पुरानो विधी हो । जुनबेला अक्सप्रिन्ट आएको थिएन । त्यो बेला स्क्रिन प्रिन्टबाट दुई कलर, हातबाट दुई कलर प्रिन्ट छाप्थे । अहिले त्यही मेटिरियल प्रयोग गरेर कपडामा स्क्रिन प्रिन्टबाट गर्ने हो ।’

अहिले यो पेशामा भएकाहरु धेरे विदेश पलायन भइसके । चुनावताका व्यापार बढ्ने भएपनि व्यापारीहरुको लगानी फस्ने डर पनि उत्तिकै हुन्छ ।

यसअघिको लगानी फसेकाले कार्की यसपटक सचेत छन् ।

‘चुनावमा झण्डा बनाउँछन्, हारे भने पैसा नै दिदैनन्,’ उनले भने, ‘विगतमा हाम्रो हातले लेख्ने देखिको छपाइ गर्दा धेरै साथीहरुको पैसा डुबेको छ ।’

कार्कीका अनुसार चुनावमा अर्डर दिन एकजना र झण्डा लिन अर्को कार्यकर्ता आउँछन् । पछि हामी पैसा पठाइदिन्छु भन्छन् । तर, चुनाव हारे फर्केर आउँदैनन् ।

चुनाव जितेकाहरुले पैसा दिने गरेको उनले बताए ।

दुई वर्षदेखि कोभिडका कारण व्यवसायी थला परेका थिए । चुनावले केही उकास्ने उनीहरुको आशा छ ।

Comments

One response to “झण्डा बनाउने कलाकारका दु:ख- चुनाव हार्नेले पैसा नै दिँदैनन् (भिडिओ)”

  1. Rajkumar shahi thakuri Avatar
    Rajkumar shahi thakuri

    सबै झोले नेता हरु चोर हुन नेपाल को झण्डा नबोक्ने दलाल हरु हुन यिनी हरु यस्तै गछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *