दुई दिन बिदा : पहिल्यै असफल भएको अभ्यास किन ब्युँतायो सरकारले ?

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय लिँदै पहिले असफल भइसकेको अभ्यास ब्युँताएको छ । रोचक के भने देउवा नेतृत्वको सरकारले नै दुई दिन बिदाको प्रावधान विगतमा खारेज गरेको थियो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन शनिवार र आइतबार बिदा दिने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा २०५९ सालमा यो निर्णय खारेज गरेका थिए । तर, आफूले खारेज गरेको निर्णय २० वर्षपछि अर्थात् दुई दशकपछि आएर पुनः परीक्षणका रूपमा दुई दिन बिदा दिने निर्णय गरेका हुन् ।

सरकारी उच्च स्रोतका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गएपछि र नेपालको विदेशी मुद्रा सञ्चितिमा गिरावट आएपछि सातामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा करिब एक महिनाअघि नै भएको थियो । एक महिना अघिको मन्त्रिपरिषद् बैठकमा सामान्य छलफल भए पनि त्यसमा सबैको सहमति नजुटेपछि निर्णय हुन सकेको थिएन । दुई दिन बिदा दिँदा इन्धनको खपत कम हुने सरकारी उच्च अधिकारीको दाबी छ ।

तर, यो निर्णय अहिले कुन मन्त्रालयको प्रस्तावमा गएको भन्ने बारेमा सबै बेखबर छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले गृह मन्त्रालयको प्रस्ताव भएको बताए । तर, गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव फणिन्द्रमणी पोखरेलले यस बारेमा आफूलाई कुनै जानकारी नभएको उल्लेख गरे ।

उनले भने, ‘खासमा यो प्रस्ताव गृह मन्त्रालयबाटै जानुपर्ने हो । तर, मलाई यस मन्त्रालयबाट गएको जस्तो लाग्दैन । यस बारेमा मलाई जानकारी छैन । सायद माथिल्लो तहबाटै गएको पनि हुनसक्छ ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि आफ्नो मन्त्रालयको प्रस्ताव नभएको बताएको छ । मन्त्रालयका सचिव सुरेश अधिकारीले यो निर्णयको प्रस्तावबारे आफूलाई जानकारी नभएको तर, सरकारले निर्णय भने गरेको नेपाल प्रेससँग बताए ।

उनले भने, ‘यो प्रस्ताव गृह मन्त्रालयबाट जानुपर्ने हो । यदि गृह मन्त्रालयबाट नगएको भए, प्रधानमन्त्रीकै निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत उच्च स्तरबाटै गएको पनि हुनसक्छ । त्यसै भएको होला ।’

दुई वर्षमै उल्टिएको थियो दुई दिन बिदा दिने निर्णय

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वको सरकारले २०५६ साउन १ गतेबाट लागू हुने गरी नेपालमा दुई दिन सार्वजनिक बिदा दिने अभ्यास सुरु गरेको थियो ।

‘त्यस बेला पनि अहिलेजस्तै पेट्रोलियम पदार्थको मूल्य बढ्यो । बिद्युत् पनि बचाउनुपर्ने अवस्था आएको हुनाले तत्कालीन सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरिएको थियो,’ तत्कालीन मुख्यसचिव तीर्थमान शाक्यले नेपाल प्रेससँग बताए ।

उनले थपे, ‘मेरो पालामा उक्त निर्णय भएको थियो । म मुख्यसचिव हुँदाहुँदै मन्त्रीहरूले हटाउनुपर्‍यो भनेर प्रस्ताव अघि बढाए । मैले म आफू मुख्यसचिव हुँदासम्म नहटाउने अडान लिए र प्रस्ताव अघि जान दिएन । पछि २०५८ साल म चैत १० गते म मुख्यसचिवबाट अनिवार्य अवकाशमा गए । म गएपछि मुख्यसचिवमा केशव राजभण्डारी आउनुभयो । मेरो अनिवार्य अवकाश भएको एक महिनामा नै उक्त निर्णय हटाइयो ।’

उक्त निर्णय त्यति बेला किन हटाइएको थियो भन्ने प्रश्नमा पूर्व मुख्यसचिव शाक्यले भने, ‘शनिवार र आइतबार गरेर दुई दिन बिदा दिने निर्णय भयो । कर्मचारीहरू शुक्रवार पनि आधा दिनमै घर जान थाले । अनि सोमबार पनि मध्यान्ह १२÷१ बजेसम्म कार्यालय हाजिर हुन थाले । यसबाट नागरिकले पाउने सेवा प्रभावित भयो । त्यसरी हेर्दा हप्तामा तीन दिन बिदा भएजस्तै भयो । कतिपय कर्मचारी शनिवार र आइतबार बिदा भए पनि मन्त्री निवास तथा क्वार्टरमा नै फाइल बोकेर आउन थाले । त्यसै कारणले हटाउनुपर्‍यो भन्ने प्रस्ताव आएको हो । सायद त्यसै कारणले पछि हटाइयो ।’

पूर्व मुख्यसचिव शाक्य त्यति बेला बिना बहस निर्णय गरिएको भए पनि यस पटक भने अध्ययन अनुसन्धानपछि निर्णय गरिएको हुनसक्ने बताए ।

उनले भने, ‘शनिवार र आइतबार बिदा दिए पनि केही फरक पर्दैन तर, शुक्रवार र सोमबार प्रभाव पर्न दिनुभएन । शुक्रवार पनि पुरै दिन कार्यालय खुलाउनुपर्‍यो र सोमबार पनि बिहानैदेखि कार्यालय हाजिर हुने व्यवस्था गर्नुपर्‍यो ।’

पूर्व मुख्यसचिव विमल कोइराला सातामा दुई दिन बिदा दिने सरकारको निर्णयको पक्षमा उभिएका छन् । उनले यसबारेमा सामाजिक सञ्जालमा भइरहेको टिप्पणीको खण्डन गर्दै परम्परागत कुरालाई चलाउनु हुँदैन भन्ने बुझाइ रहेकाले त्यही मानसिकताले अहिले पनि काम गरिरहेको नेपाल प्रेससँग बताए ।

उनले भने, ‘काम र जीवनको सन्तुलन संसार भरी नै खोजिएको छ । कतिपय मुलुकमा तीनदेखि चार दिन पनि बिदा दिने प्रचलन छ । मूल कुरा के हो भने अन्तर्राष्ट्रिय श्रम संगठनको मान्यता अनुसार पनि हप्तामा ४० घण्टा बिदा दिनुपर्छ हुनु पर्छ ।’

अहिले ६ दिन कार्यालय सञ्चालन हुँदा पनि कर्मचारीले काम काम पुरै समय गरेको छन् कि छैनन् भन्ने कुरा अध्ययनको विषय भएको उनको भनाइ छ ।

उनले भने, ‘सातामा दुई दिन बिदा दिने निर्णय उपयुक्त छ । तर, त्यसका लागि सरकारले निगरानी प्रणालीलाई व्यवस्थित बनाउनुपर्‍यो । हप्ताको पाँच दिन गरिने कामलाई कडाइका साथ लागू गर्नुपर्‍यो । उसो त अहिलेकै प्रचलनमा रहेको प्रणालीलाई सुधार गर्न मुस्किल भइरहेको छ । यस्तो अवस्थामा एक दिन थप बिदा दिने निर्णय कार्यान्वयन गर्नका लागि मूल्याङ्कन प्रणालीलाई बलियो बनाएर अघि बढ्न जरुरी छ ।’

सरकारकै अध्ययन समितिको सुझाव

तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको उपस्थितिमा २०७७ असोज ८ गते मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले कोभिड–१९ पछि पर्यटन उत्थानका लागि प्रत्येक हप्तामा दुई दिन बिदाको व्यवस्थाका लागि अध्ययन गर्न एक अध्ययन समिति गठन गरेको थियो ।

मन्त्रालयका तत्कालीन सहसचिव एवम् प्रशासन तथा योजना महाशाखा प्रमुख कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठित समितिले अध्ययनपछि हप्तामा दुई दिन सार्वजनिक बिदा कायम गर्दा आर्थिक रूपले कर्मचारी र कार्यालय तथा संस्थाको उत्पादकत्व वृद्धि हुने निष्कर्ष निकालेको थियो । साथै, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, आन्तरिक पर्यटन प्रवर्द्धन हुने, सामाजिक दृष्टिकोणले लैंगिक समानता कायम गर्न, काम र व्यक्तिगत जीवनबिचको सन्तुलन कायम गर्न सहयोग पुग्ने, पारिवारिक सामिप्यता कायम हुने र पर्यावरणीय दृष्टिकोणले समेत सकारात्मक असर पर्न जाने प्रतिवेदन दिएको थियो ।

अन्य मुलुकको अभ्यास

विश्व श्रम संगठन (आईएलओ)को महासन्धी ४७ ले श्रमिकलाई हप्तामा ४० घण्टाको आधारभूत कार्य समय तोकेको छ । विश्लेषण गरिएका विश्वका एक सय २७ देशमध्ये १ सय १६ देशमा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने गरिएको छ भने ११ देशमा हप्तामा एक दिन बिदा दिने गरिएको छ । यस्तै एशिया महादेशमा तथ्यांक उपलब्ध भएका ४३ देशमध्ये ८८ प्रतिशत अर्थात् ३८ देशमा हप्तामा दुई दिन बिदा दिने गरिएको छ । सार्क सदस्य राष्ट्रमध्ये नेपाल बाहेक सबैमा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रावधान रहेको छ ।

तथ्यांक उपलब्ध भई विश्लेषण गरिएका विश्वका एक सय २७ देशमध्ये एक सय १५ देशमा हप्तामा दुई दिन बिदा दिइने गरिएको छ । जुन विश्लेषण गरिएका देशको ९१ प्रतिशत हो । एक सय २७ देशमध्ये ८८ देशमा हप्तामा ४० घण्टा र आठ देशमा ४० घण्टाभन्दा कम कार्य समय तोकिएको छ । जुन १ सय २७ देशको ७५ प्रतिशत हुन्छ । हालै केही विकसित र सम्पन्न देशमा कर्मचारी र मजदुरले हप्तामा निश्चित दिन वा घण्टा अनिवार्य तलबी बिदा बस्नै पर्ने व्यवस्थासमेत गरेका छन् । कतिपय देश र निजी कम्पनीले समेत हप्तामा तीन दिन बिदा दिने गरेका छन् ।

जापानमा माइक्रोसफ्ट कम्पनीले हप्तामा तीन दिन बिदा दिने गरी गरेको परीक्षणमा उक्त कम्पनीको विद्युत् खपत २३ प्रतिशत कमी आएको पाइएको थियो । बेलायतमा लेबर पार्टीले आफ्नो सन् २०१९ को चुनावी घोषणापत्रमा चुनाव जितेमा हप्तामा तीन दिन बिदा दिने प्रावधान ल्याउने जनाएको थियो ।

विश्वका धेरै देशमा धेरै कम्पनी र संस्थाले हप्तामा तीन दिनको प्रावधान राखेर उत्पादकत्वमा वृद्धि, कर्मचारी र कामदारको तनावको कमी र सञ्चालन खर्चमा कटौती गरेको अध्ययनले देखाएका छन् ।

Comments

One response to “दुई दिन बिदा : पहिल्यै असफल भएको अभ्यास किन ब्युँतायो सरकारले ?”

  1. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    संघीयतामा जाने बेलामा पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउँदा राजतन्त्र वा पञ्चायत देख्ने चक्षुले हप्तामा दुई दिन बिदा दिन विदेशीको नक्कल गरेर शनिवार र आईतवार बिदा हुने नयाँ नियम ल्याएछ। यसलाई भनिन्छ, दास मनोविज्ञान। बरू शुक्रवार र शनिवार विदा गरेर कार्यालयहरू ९-५ बनाउनु पर्थ्यो। हाम्रो सन्दर्भ कुन अभ्यास ठीक हुन्छ भनेर थाहा नपाउने हुस्सु नेतृत्वका कारणले देशमा संकट बढ्दो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *