साउदीस्थित नेपाली श्रमिककाे समस्या समाधानबारे श्रममन्त्री श्रेष्ठले राजदूतसँग गरे छलफल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका कार्यवाहक राजदूत नाइफ अलोटाइवीले शिष्टाचार भेट गरेका छन । मन्त्रालयमा साेमबार भएको भेटमा उनीहरुबीच दुई देशको आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भएको छ।

सो अवसरमा श्रममन्त्री श्रेष्ठले पछिल्लो समय नेपाली कामदारको प्रमुख श्रम गन्तव्य बनेको साउदी अरेबियामा नेपालीहरु विभिन्न समस्यामा परेको गुनासो आएको भन्दै समाधानको पहल गर्न राजदूत अलोटाइवीसँग आग्रह गरे । सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको भन्दै उजुरी तथा गुनासो गर्ने नेपाली कामदारको संख्या उच्च रहेको मन्त्री श्रेष्ठको भनाइ थियो ।

नेपाल र साउदी अरेबियाबीचको श्रम सम्झौतालाई छिटो अन्तिम रूप दिनुपर्ने मन्त्री श्रेष्ठले बताए । श्रम सम्झौता नहुँदा रोजगारदाता तथा मानव स्राेत आपूर्तिकर्ता संस्थाको कर्तव्य स्पष्ट हुन नसकेको उनले बताए ।

राजदूत अलोटाइवीले नेपाली कामदारको सहजताको लागि आफू प्रतिबद्ध रहेको बताए ।

उक्त अवसरमा मन्त्री श्रेष्ठले साउदी अरेबिया सरकारको सहयोगमा नेपालमा साउदी लक्षित सीप प्रशिक्षण केन्द्र सञ्चालनको प्रस्ताव पनि गरेका थिए । अहिले साउदी अरेबिया जाने अधिकांश कामदार अदक्ष रहेकाले सीपयुक्त जनशक्ति उत्पादन गर्न सीप परीक्षण परियोजना सञ्चालन गर्न सकिने मन्त्री श्रेष्ठले बताए ।

साउदीमा रोजगारीका लागि जाने नेपाली कामदारमध्ये अधिकांश अदक्ष कामदार छन् । करिब चार लाख श्रमिक कार्यरत साउदी अरेबिया नेपाली कामदारहरूको लागि प्रमुख श्रम गन्तव्य हो । नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मार्च १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *