काठमाडौं । आजबाट पुन वितरण सुरु भएको मेलम्चीको पानी काठमाडौंवासीले तीन दिन बिराएर प्राप्त गर्ने भएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले तीन दिनमा एकपटक हरेक घरमा पुर्याउने गरी तालिका बनाएको छ ।
महाँकालचौर वितरण केन्द्रको तालिकाअनुसार भोलिबाट तीन दिन बिराएर पानी बितरण गरिनेछ । केयुकेएल महाँकालचौरले धारामा पानी आउने दिन ६ घण्टा पानी दिने तालिका बनाएको छ । कपन एरियामा भने ६ दिन विराएर पानी वितरण गर्ने तालिका बनाएको छ ।
प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले अहिले सकेसम्म दैनिक र नसके तीन दिन बिराएर उपभोक्ताले पानी पाउने जानकारी दिए । कुनै ग्राहकको घरमा पानी नपुगेको खण्डमा तत्काल र्यापिड रेस्पोन्स टीमले समस्या समाधान गर्ने उनले बताए ।
शाक्यले गत वर्ष वितरण हुन नसकेका ठाउँमा पानी वितरण गरिने बताए । उनले भने, ‘अघिल्लो वर्ष के–कारणले ती ठाउँमा पानी नपुगेको हो, त्यो हेरेर त्यसको समाधान गरिनेछ ।’
अहिले पनि अधिकांश स्थानमा नयाँ पाइपको परीक्षण गर्न बाँकी भएकाले पनि पुरानो पाइपबाट नै वितरण थालिएको हो ।
पानी वितरणका क्रममा पाइपमा चुहावट हुँदा मर्मत तत्काल गर्नुपर्ने उनको भनाइ छ । गत वर्ष सडकले अनुमति नदिँदा मर्मत गर्न ढिला भएको थियो । उनले भने, ‘सडक खन्नासाथ तत्काल मर्मत गर्न नपाउँदा ढिला हुन्छ । मेलम्ची खोलाबाट १७ करोड लिटर पानी ल्याउने भए पनि अहिले तत्काल थोरैबाट सुरु गरिने तयारी गरिएको छ ।’
गत वर्ष पनि सुरुमा थोरै परिमाणबाट पानी वितरण थालिएको थियो । अहिले सुरुमा पाँच करोड लिटर पानी ल्याइने र विस्तारै बढाइनेछ । उनले भने, ‘पाँच करोडबाट सुरु गरिएपछि छ करोड लिटर हुँदै आठ करोड लिटरबाट बढाइएको हो ।’
गत वर्ष असारमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । आयोजनास्थलसम्म पुग्ने पहुँच सडक बाढीका कारणले क्षतिग्रस्त बन्दा कोही पनि आयोजनास्थल पुगेका थिएनन् । केही महिना पहिले सडक मर्मत गरेर आयोजनाका संरचना खुलाइएपछि हाल पानी काठमाडौँ ल्याइएको हो ।




Leave a Reply