काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिका उपमेयरको उम्मेदवार सुनिता डंगोलले पदलाई भन्दा लक्ष्यलाई ठूलो ठान्दै नेकपा (एमाले) को तर्फबाट उम्मेदवारी बन्न लागेको प्रष्ट्याएकी छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंलाई सांस्कृतिक नगर तथा राजधानी सहरको रूपमा साँच्चिकेको काठमाडौं बनाउने उद्देश्यले पदलाई भन्दा लक्ष्यलाई ठूलो ठान्दै एमालेको तर्फबाट उपमेयरको उम्मेदवार बन्ने निर्णय गरेको बताएकी हुन् ।
उनले एमालेका पार्टी अध्यक्ष तथा शीर्ष नेतृत्व तहको आफूलाई विश्वास गरेको भन्दै आभार व्यक्त गरेकी छन् ।
यसअघि काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उठ्न लागेकी डंगोललाई एमालेले उपमेयर पदमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘नेकपा (एमाले) जस्तो दर्बिलो संगठन भएको जनतालाई मनपर्ने सबैभन्दा ठूलो पार्टीले मलाई विश्वास गरेर उपमेयरको जिम्मेवारी दिनु भनेको मलाई मात्रै होइन युवा, महिला, सामाजिकसाँस्कृतिक अभियन्ता लगायत सम्पूर्ण काठमाडौंबासीहरूको भावना सबैको प्रतिनिधित्व हुने गरी युवाहरूलाई उपहारको रुपमा प्रदान गरेको अवसर हो भन्ने मैले ठानेकी छु । यो मलाई प्रतिनिधि पात्रका रुपमा उभ्याएर पार्टीले म जस्ता क्रियाशील युवाहरू, म जस्ता दक्ष महिलाहरु, सामाजिक (साँस्कृतिक अभियन्ताहरु सबैलाई गरेको सम्मान हो । ’
अहिले उपमेयर पदको उम्मेदवार बन्दै गर्दा मात्रै होइन तपाईहरूकै माया र आर्शीवादले निर्वाचन जितेर आउँदै गर्दा पनि म तपाईंहरूले ममाथि गरेको विश्वास र भरोसालाई कुठाराघाट नगर्ने उनले बताइन् । उनले मतदाताको शीर कहिल्यै पनि झुक्न नदिने प्रतिबद्धतासमेत गरेकी छन् । 

Leave a Reply