कृषि मन्त्रालयलाई ४२ अर्ब ७३ करोडको सिलिङ, अनुदान नराख्न अर्थमन्त्रीकाे सुझाव

काठमाडौं । कृषि मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ७३ करोड रुपैयाँको सिलिङ पाएको छ । मन्त्रालयले सोही सिलिङभित्र रहेर बजेट निर्माण गर्ने बताएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा कृषि क्षेत्रका लागि अनुदान नराख्न सुझाव दिएका छन् । आगामी बजेटको नीति कार्यक्रम र बजेटका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग भएको छलफलमा अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई प्रोत्साहन चाहिएकाले अनुदान नराख्न सुझाव दिएका हुन् ।

‘आगामी आवको बजेट बनाउँदा कृषिमा अनुदान भन्ने शब्द नराख्नुस्, त्यसलाई हटाइहाल्नुस् । उत्पादन वृद्धिका आधारमा किसान पुरस्कृत, उन्नत जातको बीउको उपलब्धता, सही समयमा रासायनिक तथा जैविक मलको उपलब्धता, प्रविधि र प्राविधिकको सहयोगलगायतका माध्यमबाट किसानलाई प्रोत्साहन गर्नु जरुरी छ।’, उनले भने ।

कृषि मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रकाश सञ्जेलले आगामी आवका लागि प्रस्तावित कार्यक्रममा कृषि अनुदानको विषय उठाएपछि मन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन् ।

चालू आवमा कूल बजेटको तुलनामा कृषि क्षेत्रमा २.५ प्रतिशतमात्रै बजेट विनियोजन भएको र पछिल्लो १० वर्षमा कृषि तथा पशुपंक्षी क्षेत्रको औसत वृद्धिदर ३ प्रतिशत रहेको कृषि मन्त्रालयले जनाएको छ । छलफलमा अर्थमन्त्री शर्माले सीमा नाकामा क्वारेन्टाइन स्थापना गर्न बारम्बार निर्देशन दिए पनि ढिलाइ गरेको भन्दै गुनासो गरेका थिए ।

Comments

One response to “कृषि मन्त्रालयलाई ४२ अर्ब ७३ करोडको सिलिङ, अनुदान नराख्न अर्थमन्त्रीकाे सुझाव”

  1. rewati Bhattarai Avatar
    rewati Bhattarai

    यो कृषिमा अनुदान नराख्ने भन्ने अर्थमन्त्रीको कुरा ठिक्कै लाग्यो किनकी कृषक्ले पाउने हैन अनुदान कागजी कृषक्ले मात्र पाउँछन् , अब पुर्स्कृत गर्ने कुरामा पनि आफ्ना लाई गर्ने हो आखिर शब्दमा फेर्बदल मानसिकतामा फरक आउने हैन क्यारे

Leave a Reply

Your email address will not be published. Required fields are marked *