काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरूले एमसीसी सम्झौता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेका छन्।
नेपाल–अमेरिका संसदीय मैत्री समूहसँग शनिवार काठमाडौंको एक होटेलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरूले नेपालको समृद्धिका लागि, नेपालको जनजीविका र समावेशी विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिन अमेरिकाका दुवै पार्टीका सांसदहरूको तर्फबाट प्रतिबद्धता समेत व्यक्त गरे ।
नेपालको पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, नवीकरण ऊर्जा लगायतका लागि एमसीसी अति महत्त्वपूर्ण स्रोत भएको कुरा आफूहरूले राखेको र त्यसमा पनि सहयोग गर्ने कुरा अमेरिकी सांसदहरूको टोलीले राखेको डा. मिनेन्द्र रिजालले जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा अमेरिकी सांसदहरूले संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ कार्यमा नेपाली सेनाले पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए । भने नेपालको विपद् व्यवस्थापनमा आवश्यक सहयोगलाई निरन्तरता दिने बताए ।
‘नेपालको समृद्धिका लागि, नेपालको जनजीविकाको लागि र नेपालको समावेशी विकासका लागि सहयोग पुर्याउने क्रममा दुवै पार्टीका सांसदको सहयोग रहनेछ, जुनसुकै सरकार भए पनि । त्यो सहयोग निरन्तर रूपमा रहनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्नु भयो,’ समूहका संयोजक डा. रिजालले भने, ‘नेपालको भौतिक पूर्वाधार निर्माणका लागि, नेपालको पर्यटन क्षेत्रको विकासका लागि र स्वच्छ र नवीकरण ऊर्जाका लागि नेपाल अत्यन्तै महत्त्वपूर्ण स्रोत भएको देश हुन सक्दछ, दक्षिण एसियाका लागि भन्ने कुरा हामीले राख्यौँ । त्यसमा उहाँहरूले सन्तोष व्यक्त गर्नु भयो । अनि नेपालमा विपद् व्यवस्थापनका लागि अमेरिकाको सेना र रक्षा मन्त्रालयले पुर्याएको सहयोगको बारेमा कुरा गरियो । र, उहाँहरूले नेपाली सेनाले शान्ति स्थापनार्थ खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नु भयो ।’
दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष प्रवेश गर्न लागेको अवसरमा अमेरिकी सांसदहरू नेपाल भ्रमणमा आएका हुन् ।
भ्रमण टोलीले शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गरी द्विपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो ।

Leave a Reply