काठमाडौं । नेपाल अमेरिका सम्बन्धको ७५ औँ वर्ष मनाउन सिनेटर किर्स्टन जिलीब्रान्डको नेतृत्वमा रहेको अमेरिकी उच्चस्तरीय संसदीय टोली नेपाल आइपुगेको छ ।
टोलीमा सिनेटरहरू शेल्डन व्हाइटहाउस, कोरी बुकर, मार्क केली र प्रतिनिधि सभा सदस्य मोन्डेयर जोन्स सहभागी छन् ।
नेपालस्थित अमेरिकी राजदूतावासले शुक्रवार आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत उच्चस्तरीय संसदीय टोली नेपाल आइपुगेको जानकारी गराएको हो ।
दूतावासले अमेरिकी सिनेट सदस्यको यो भ्रमणले दुई देश बिच रहेको आपसी लोकतान्त्रिक मान्यता, जनस्तरको सम्बन्ध तथा गहिरो कूटनीतिक साझेदारीको प्रमाण पेस गरेको समेत जानकारी गराएको छ ।
टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालगायत अन्य सरकारी अधिकारी र राजनीतिक नेताहरूसँग भेटेर विभिन्न विषयमा छलफल गर्ने दूतावासले जनाएको छ ।
यसै गरी हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव जानकारी प्राप्त गर्नका निमित्त सिनेट सदस्यको टोली शनिवार दिउँसो एक पदयात्रामा सहभागी हुने पनि दूतावासले जानकारी गराएको छ ।

Leave a Reply