काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको घोषणापत्रबाट मदिरा पिउनेले लाइसेन्स लिनुपर्ने सम्बन्धी प्रसंग सच्याउने बताएका छन् । आज एक कार्यक्रममा बोल्दै उनले यसबाट पार्टीको भोट प्रभावित बन्न सक्ने संकेत गरे ।
नेपालले भने, ‘भोट चाहिँदैन कि क्या हो साथीहरूलाई ? कुरा राम्रो हो, असल समाज बनाउन चाहेको हो । तर सबै काम समयमा गर्नुपर्छ । मध्यराति गीत गाएर हुँदैन ।’
नेकपा एसले आफ्नो घोषणापत्रमा आफूले जितेका पालिकामा मदिरा सेवन कार्डको व्यवस्था गर्ने उल्लेख गरेको छ । मदिरा सेवन गर्ने व्यक्तिहरूले पालिकाबाट यस्तो कार्ड लिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।
नेपालले घोषणापत्रमा रहेको सो प्रावधानलाई मिलाएर प्रकाशित गर्न भनेको उल्लेख गरे ।
‘धेरै कुराहरू यसमा राम्रा छन् । कतिपय कुरा अझै थप्नुपर्ने हुन सक्छ । सकेसम्म धेरै पक्षलाई समेट्नुपर्छ ।’
कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हिटलरसँग तुलना गरे ।
नेपालले थपे, ‘देशमा ओली नामको हिटलरको नयाँ अवतार देखा परेको छ । मलाई त नामै लिन मन लाग्दैन, लिइहालेछु । के गर्नु, नेगेटिभ व्यक्तिको चर्चा हुन्छ नि । कृष्णको मात्रै चर्चा हुँदैन, कंशको पनि नाम लिइन्छ । रामको मात्रै नाम लिइँदैन रावणको पनि लिइन्छ । दुर्गाको मात्रै नाम लिइँदैन, भष्मासुरको पनि लिइन्छ ।’
ओली सत्तामा रहिरहेको भए अहिलेसम्म सबै भष्म भइसक्ने उनको दाबी थियो ।
‘त्यही भएर हामीले उनलाई सत्ताबाट भुईँमा झारेकै हो । पछारेकै हो । निकालेकै हो । उनको अहंकारलाई चुनौती दिएकै हो,’ नेपालले भने ।

Leave a Reply