माओवादीले जितेको धुर्कोटमा कांग्रेसबाट उम्मेदवार सिफारिस

रुपन्देही । २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रले जित हात पारेको गुल्मीको घुर्कोटमा नेपाली कांग्रेसले आफ्नो उम्मेदवार सिफारिस गरेको छ ।

अध्यक्षमा कांग्रेसले महेन्द्रप्रसाद भण्डारीलाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ । सिफारिसपछि माओवादी र कांग्रेसको विवाद बढेको छ ।

नेपाली कांग्रेस गाउँ समितिको मङ्गलवार बसेको बैठकले भण्डारीलाई सर्वसम्मत रूपमा सिफारिस गरेको सभापति हरिबहादुर थापाले जानकारी दिएका छन् । उनी नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय उपाध्यक्ष एवं महाधिवेशन प्रतिनिधि हुन् ।

कांग्रेस नेताहरूले यसअघिको चुनावमा गठबन्धन गर्दा अर्को पटक कांग्रेसलाई प्रमुख दिने सहमति गरे पनि माओवादी केन्द्रले पालना नगरेकाले यस पटक धुर्कोटमा प्रमुख पद कांग्रेसले नछाड्ने बताएका छन् भने माओवादीले पार्टीले जितेको पालिकामा सोही पार्टीले नै पाउने केन्द्रीय सहमतिअनुसार माओवादीले नै पाउनुपर्ने भन्दै उम्मेदवार घोषणा गरेका छन् ।

१२ पालिका रहेको गुल्मीमा माओवादी धुर्कोट, मालिका, चन्द्रकोट, रुरु, मदानेको प्रमुख पद पाउनुपर्ने दाबी गठबन्धनमा राखेको छ । तर कांग्रेसले धुर्कोट नछोड्ने गरी उम्मेदवार नै घोषणा गरेपछि माओवादी दबाबमा परेको छ । नेकपा माओवादीले जिल्लामा आफूले पाउने र जित्ने पालिकाको पहिलो सूचिमा राखेको धुर्कोटमा अहिलेका अध्यक्ष भूपाल पोखरेललाई आगामी अध्यक्ष भनेर घोषणा गरिसकेको थियो ।

मालिका गाउँपालिकामा भने गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार सर्वसम्मत रूपमा टुंग्याएको छ । यहाँको अध्यक्षमा माओवादी केन्द्रका देवीराम अर्याल र उपाध्यक्षमा नेपाली कांग्रेसका पालिका सभापति उपेन्द्र अर्याललाई उठाउने निर्णय गरेको थियो । तर नेकपा एस र जनमोर्चाले यहाँ पनि असहमति जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *