तेस्रो वीर गणेशमान सिंह स्मृति दाैड वैशाख १७ मा हुने

काठमाडौं । नेपाल प्रजातान्त्रिक आन्दोलनका युग पुरुष गणेशमान सिंहको स्मृतिमा तेस्रो गणेशमान सिंह १० किमि दाैड वैशाख १७ गते हुने भएको छ ।

गणेशमान सिंह स्पोर्टस् कमिटीको आयोजनामा हुने प्रतियोगितामा क्रमशः पुरुष तथा महिला ५ किमि र १० किमि गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताअन्तर्गत १० किमि दौड महिला तथा पुरुषतर्फका विजेताले ६० हजार पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुनेले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौं हुनेले ५ हजार नगद पुरस्कार पाउने छन्।

यस्तै ५ किमि पुरुष तथा महिलातर्फका विजेताले १५ हजार, दोस्राे हुनेले १० हजार, तेस्राेले ७ हजार, चौथो हुनेले ५ हजार र पाँचौं हुनेले ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा छैटौंदेखि १०औं स्थान प्राप्त गर्ने खेलाडीलाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजक गणेशमान सिंह स्पोर्टस् कमिटीले जनाएकाे छ ।

कमिटीका अनुसार नयाँ रेकर्ड बनाउने पहिलो खेलाडीलाई नगद १० हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।

वैशाख १७ गते बिहान ७ः३० बजे शेर्पा मल दरबारमार्गबाट सुरु हुने दाैड महेन्द्र सालिक, रत्नपार्क, भद्रकाली, सहिदगेट, वीर अस्पताल, भोटाहिटी, जमल, राजदरबार दक्षिण गेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बाल मन्दिर, पुलिस हेडक्वार्टर दक्षिण गेट, गैरीधारा, राजदरबार उत्तरपूर्व मोड, नागपोखरी, जय नेपाल सिनेमा घर हुँदै पुनः शेर्पा मल दरबारमार्गमा पुगेर सम्पन्न हुनेछ ।

यसपटक पुरुष र महिलातर्फ ५ किमि दौड थप गरिएको हाे । ५ किमि दौड पनि शेर्पा मल दरबारमार्गबाट सुरु भई महेन्द्र सालिक, रत्नपार्क, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, भोटाहिटी, जमल, राजदरबार दक्षिण गेट हुँदै पुनः शेर्पा मलमा पुगेर सम्पन्न हुनेछ ।

यस प्रतियोगितामा नेपालका उत्कृष्टसहित उदयीमान धावकहरुसहित केही विदेशी खेलाडीहरुको सहभागिता रहने आयोजकले जानकारी दिएकाे छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *