महोत्तरीकाे बर्दिबासमा २४ घण्टा पनि अडिएन कालोपत्रे, गुणस्तरहिन काम गरेको भन्दै स्थानीय आन्दोलित

महोत्तरी । महोत्तरीकाे बर्दीबासमा सडक कालोपत्रे गरेको २४ घन्टा नबित्दै धमाधम पिच उप्कन थालेपछि खयरमाराका स्थानीय आन्दोलित भएका छन् । टेन्डर प्रक्रियाबाट युनिभर्सल कन्स्ट्रक्सनले ठेक्का पाएको लक्ष्मीनारायण माध्यमिक विद्यालयदेखि पोखरीसम्मको पिच उप्कन थालेपछि स्थानीय आन्दोलित  भएका हुन्।

पिच गर्नेक्रममा ठेकेदारले कमसल र गुणस्तरहीन काम गरेको स्थानीयले आरोप लगाएका छन् । बढी नाफा लिने उद्देश्यले ठेकेदार कम्पनीले बेइमान गरेको स्थानीयको भनाइ छ ।

उच्च माध्यमिक विद्यालयदेखि पोखरीसम्म झन्डै ११ सय मिटर पिच सडक टेन्डरमार्फत युनिभर्सल कन्स्ट्रक्सनले करिब एक करोडमा ठेक्का हात पारेको थियो । तर, स्थानीयले राजनीतिक प्रतिशोध लिने उद्देश्यले किनारा नै नमिलाई कन पिच उप्काएको युनिभर्सल कन्स्ट्रक्सनका प्रबन्धक सुजन पोखरेलको दाबी छ । प्रबन्धक पोखरेलले भने ‘निर्वाचनको सङ्घार मा स्थानीय दलगत व्यक्तिहरूले बदनाम गर्ने उद्देश्यले योजना विफल बनाउन पिच उप्काएका हुन् ।’

नगरपालिकाको मापदण्डमा उक्त कन्स्ट्रक्सन कम्पनीले ४० एफएम मोटाइ र पूर्ण रिमिक्स बनाउनुपर्ने उल्लेख छ । तर मापदण्डअनुसार गुणस्तरहीन सामान प्रयोग गरी स्थानीयलाई आँखामा छारो हाल्ने काम मात्र गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

यता नगरपालिकाले गुणस्तरको विषयमा छानबिन गर्न प्राविधिक टोली आज पठाउन लागेको नगर प्रमुख विदुर कार्कीले बताए । उनले भने  ‘प्राविधिकहरू गएर गुणस्तरको लेखाजोखा गर्छन्, यदि प्रमाणित भए ठेकेदार कम्पनीको भुक्तानी नै रद्द गरिनेछ ।’

ठेकेदार कम्पनीले निर्माण सामग्री प्रयोग गर्दा वडाध्यक्षलाई बोलाएर समन्वय गर्ने बताए पनि आफूलाई कुनै जानकारी नदिएको वडाध्यक्ष धनबहादुर लामाले बताए । यसअघि पनि खयरमारामै बन्दै गरेको पिच उप्किएपछि नगरपालिकाले भुक्तानी रोकेर पुनः काम गर्न लगाएको थियो ।

Comments

One response to “महोत्तरीकाे बर्दिबासमा २४ घण्टा पनि अडिएन कालोपत्रे, गुणस्तरहिन काम गरेको भन्दै स्थानीय आन्दोलित”

  1. विशाल Avatar
    विशाल

    प्राविधिकहरु काम हुने बेलामा साइट जान्नन क्याहो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *