एउटै हलमा २१ सय किसानलाई सम्मान

रुपन्देही । वैशाख महिनाको टन्टलापुरे गर्मी । रुपन्देही, कपिलवस्तु र नवलपरासीका २१ सय किसानलाई रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड होटेलमा जम्मा गरेर शक्तिमान ब्रान्डले किसान सम्मान कार्यक्रम गरेको छ । यो कार्यक्रममा सहभागी भएका सबै किसान शक्तिमान ब्रान्डका कृषिजन्य उपकरण प्रयोग गर्नेहरू हुन् ।

साइकल, मोटरसाइकललगायतका साधनमा सहभागी भएका किसानले ल्याएका साधनबाट होटेल परिसर खचाखच भरिएको थियो । सहभागी केही किसानहरूले एकै पटक दलका कार्यक्रमबाहेक यति धेरै सहभागी नदेखेको भन्दै आश्चर्य मानेका थिए ।

काँधमा गम्छा, हातमा टिसर्टसहितको कम्पनीको झोला बोकेका २ हजार १ सय किसानको भेला साँच्चिकै रहरलाग्दो थियो । प्रायः सहभागी थारु, भोजपुरी, अवधि र हिन्दी नै बोल्ने भएकाले कार्यक्रम सञ्चालक, कम्पनीबाट आएका प्रतिनिधि सबैले उनीहरूले बुझ्ने भाषामा बोलिरहेका थिए ।

यस क्षेत्रको महँगो होटेलमा राखिएको सो कार्यक्रममा सहभागी एक किसानले यस्ता होमा एक छाक खाना र रात बिताएको कति रकम लाग्छ होला भन्दै जिज्ञासासमेत राखेका थिए ।

शक्तिमान ब्रान्डका कृषिजन्य विभिन्न उपकरण ट्याक्टर, रोटावेटर, पावर टेलर, सिड ड्रिलरलगायतका उपकरण प्रयोग गर्दै आएका किसानलाई एकैसाथ सम्मान गरिएको कम्पनीले जनाएको छ ।

नेपालका लागि शक्तिमान ब्रान्डको आधिकारिक विक्रेता मनमित श्री ट्रेडिङ्ग ओमसतिया गाउँपालिका वडा नम्बर २ पडसरी रुपन्देहीको आयोजनामा किसान मिलाप २०२२ आयोजना गरी किसान सम्मानित गरिएको सञ्चालक उदयकुमार सिंहले जानकारी दिए ।

भारतमा उत्पादित शक्तिमान ट्र्याक्टरले खास गरी आधुनिक कृषिमा यान्त्रीकरणमा विशेष योगदान पुर्‍याएको सञ्चालक सिंहको भनाइ छ । किसानलाई आधुनिक प्रविधिको प्रयोग सँगै भित्रिएका नयाँ नयाँ उपकरणको बारेमा समेत जानकारी दिने उद्देश्यले कम्पनीबाट आएका विभिन्न व्यक्तिहरूबाट अभिमुखीकरणसमेत प्रदान गरिएको उनले बताए ।

किसानले पाउने सरकारी अनुदान लगायतको विषयमा समेत कार्यक्रममा जानकारी गराइएको थियो । कृषि क्षेत्रमा शक्तिमान ब्रान्डले नेपालमा ७२ प्रतिशतभन्दा बढी मार्केट लिएको कम्पनीको दाबी छ ।

एक वर्षमा करिब सात सय ५० भन्दा बढी उपकरण बिक्री गर्दै आएको कम्पनीको भनाइ रहेको छ । कम्पनीको सर्भिस सेन्टर ओमसतियामा रहेकोमा अबको ३ महिनामा होम सर्भिस दिने गरी विशेष उपकरण जडित गाडीसमेत सञ्चालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

किसानले आफ्नो उपकरण बिग्रिएमा घरमा नै गएर बनाउने गरी योजना निर्माण गरिएको सञ्चालक सिंहको भनाइ रहेको छ । हाल शक्तिमान ब्रान्डका १ लाख ५० हजारदेखि ११ लाख रुपैयाँसम्मका विभिन्न कृषिजन्य उपकरण बजारमा रहेका छन् ।

कपिलवस्तुको वाणगंगाबाट आएका राम बचन चौधरी, नवलपरासीको पाल्हीनन्दनबाट आएका अमित पासीले किसान भेलाबाट पालिकाबाट आफूले पाउने अनुदानका विषयमा जानकारी पाएको र कृषि उपकरणका बारेमा नयाँ विषय थाहा पाएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *