रुपन्देही । बुधवार राती शंकास्पद मृत्यु भएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकी नगर भेटेरिनरी लाइनकी २९ वर्षीया अमृता टण्डन (खत्री) को माइती पक्षले आज पनि विरोध प्रदर्शन जारी राखेका छन् ।
अमृताका माइती पक्ष तथा आफन्तले परिवारबाटै हत्या भएको भन्दै कारबाहीको माग गर्दै बिहीबारदेखि कारबाही माग गर्दै उनको घरअगाडि प्रदर्शन गरिरहँदा सो क्षेत्र तनावग्रस्त बनेको छ ।
विरोध प्रदर्शनमा सम्भावित दुर्घटना रोक्नका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । बुधवार जानकी नगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दाबी छ ।
अमृतालाई परिवारकै सदस्यले हत्या गरेर छिमेक र प्रहरी कसैलाई खबर नगरी विष सेवन गरेको बहाना बनाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएको माइती पक्षको आरोप छ ।
अस्पताल पुर्याउँदा चिकित्सकले अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएकाले उक्त घटना हत्या नै भएको अमृताका छिमेकी दाजु लक्ष्मण शर्माले दाबी गरे ।
‘बुधवार करिब राति साढे ८ बजेसम्म अमृता माइतमै थिइन्, ज्वाइँले तीन पटकसम्म फोन गरेर घर आउने भए आऊ नभए छोरालाई जे पनि हुनसक्छ भनेपछि घर गएकी थिइन्’, उनले भने, ‘घर गएपछि साढे ९ बजे मलाई बचाऊ भनेर दाइलाई म्यासेज गरेकी रहिछ, दश नबज्दै मृत्यु भएको खबर आयो ।’
छोरीलाई घरमा सासू, ससुरा, श्रीमानले धेरै पहिलादेखि नै गालीगलौज र यातना दिँदै आएको अमृताकी आमा सावित्रा खत्रीले बताइन् । अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो ।
पटक पटक यातना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । मृतकका ५ वर्षीय छोरा छन् ।
मृतकका श्रीमान्, सासू र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठग बहादुर केसीले जनाएका छन् ।
घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गर्दै माइती पक्षले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् ।
बिहीबार गरिएको प्रदर्शनमा उनको घरसमेत तोडफोड भएकाले थप सुरक्षाका लागि प्रहरी खटाइएको छ ।

Leave a Reply