चितवनमा शक्ति प्रदर्शन गर्दै राप्रपा, पारस बसपार्कमा ५० हजार बढी मान्छे उतार्ने दाबी

भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार चितवनको भरतपुरमा आमसभा गर्दैछ । केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) मा हुने आमसभामा ५० हजार बढी सर्वसाधारण सहभागी हुने राप्रपा चितवनले दाबी गरेको छ ।

आमसभास्थलमा चितवन र छिमेकी जिल्लाबाट नेता, कार्यकर्ता तथा सर्वसाधारण आउने क्रम सुरु भएको छ ।

आमसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे बिहीबार नै चितवन आइसकेका छन् । केन्द्रीय अध्यक्ष लिङदेन, उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री डा. धवलशमशेर राणा, ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा बिहान ११ बजे चितवन आइपुग्ने कार्यक्रम छ ।

आमसभाको औपचारिक कार्यक्रम दिउँसो साढे १२ बजे सुरु हुने राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले जानकारी दिए । आमसभास्थल बसपार्कको खुला चौरलाई ५ दिन लगाएर सफा गर्ने, सम्याउने काम भएको थियो । आमसभा हुने भएपछि राप्रपाले चोक तथा बसपार्क आसपास क्षेत्रमा राप्रपाका झण्डाहरु राखेर सजाइएको छ ।

आमसभामा आदिवासी, जनजातिहरुको मौलिक नृत्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसमेत हुने जनाइएको छ । स्थानीय पञ्चेबाजा, झाँकी, र्‍यालीसहित स्वःस्फुर्त सहभागी हुँदैछन् ।

Comments

One response to “चितवनमा शक्ति प्रदर्शन गर्दै राप्रपा, पारस बसपार्कमा ५० हजार बढी मान्छे उतार्ने दाबी”

  1. rewati Bhattarai Avatar
    rewati Bhattarai

    जनतालाई पार्टिले भेडा बनाए बनाइरहेका छन रा प्र पा ले पनि जनतालाई भेडा नबनाओस, जन्ता भेला गर्नु अनि प्रतिस्पर्धा जित्नु हैन जन्ताको सुख्ख दुख्खमा साथ दिनुस गाउँ गाउँ जानुस जनता लाई सास्ती नदिनुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *