जाजरकोट । जिल्लाको नलगाड नगरपालिकाकामा नेपाल टेलिकमको नेटवर्कमा सिग्नल भए पनि फोनले काम गर्न छाडेको छ । फोर जी सेवा विस्तारसँगै मोबाइल फोनमा समस्या समस्या भएको हो ।
नमस्ते प्राविधिक नेटवर्क प्रयोग गरेर फोन गर्दा आवाज नबुझिने, फोन डायल गर्ने बित्तिकै नलाग्ने समस्याले गर्दा सेवाग्राही हैरान भएका छन् । मोबाइलमा नमस्तेको नेटवर्क सधैँ आउँछ तर फोन गर्नका लागि एनसिएल नै प्रयोग गर्नुपर्ने बाध्यता रहेको नलगाड नगरपालिकाका–८ की विष्णुकुमारी खत्रीले बताइन् । निजी प्रदायक कम्पनी एनसिएलबाट फोन गर्दा हैरानी खेप्नुपरेको उनको भनाइ छ । नसेल महँगो भए पनि राम्रो कुरा आवाज सुनिने भएकाले त्यही प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनले बताइन् ।
फोन नलाग्ने र लागे पनि नबुझिने समस्याले गर्दा दिक्क लागेको नलगाडका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए । फोनमा समस्या आएको कुरा नेपाल टेलिकमलाई जानकारी गराए पनि टेलिकमले त्यो गुनासो सुने पनि नसुनेझैं गरेको उनको भनाइ छ ।
फोर जी सेवा विस्तारसँगै फोनमा समस्या आएको सेवाग्राहीको गुनासो छ । बिहान र बेलुकी मात्र थोरै भए पनि काम गर्ने गरेको तर दिनमा कामै नगर्दा आफूहरू हैरान भएको नलगाड–८ कै फत्त बहादुर खत्रीले जानकारी दिए ।
यो समस्या भएको दुई महिना बढी भइसके पनि सुनुवाइ नभएको बारेकोट गाउँपालिका–५ का जनकबहादुर शाहीले बताए । वर्षामा आकाशमा बादल देखिने बित्तिकै टावर बन्द हुने, हिउँदमा फोन नै नबुझिने समस्याले गर्दा आफूहरू हैरान भएको बारेकोट–४ का जयलाल बोहराले बताए ।
सदरमुकामकै अधिकांश ठाउँमा फोनले काम नगरेको गुनासो धेरै आउने गरेको छ । उता रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको गोतामकोटमा रहेको टावरमा समस्या आउँदा त्यसको नेटवर्क डोल्पाको मुड्केचुलामा समेत भएकाले दुवै ठाउँमा फोन सेवा अवरुद्ध भएको छ ।
पहिले फोनले काम गर्ने ठाउँमा अहिले फोनले काम छाडेको सर्वसाधारण बताउँछन् । जिल्लाका अधिकांश ठाउँमा नेपाल टेलिकमको टावर रहे पनि भरपर्दो काम नगर्दा सेवा लिने आम नागरिक पीडा सुनाउँछन् ।

Leave a Reply