टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’, ६७ समूहबीच प्रतिस्पर्धा

काठमाडौं । ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ शनिवारदेखि काठमाडौंमा सुरु भएको छ ।

टुँडिखेलमा सुरु भएको महोत्सव चैत ३० गतेसम्म चल्नेछ । खुला दोहोरीमध्ये अहिलेसम्मकै ठूलो पुरस्कार राशिको प्रतियोगितासहितको महोत्सवलाई डिएआर मुभिज एण्ड फिल्मस् ईण्डष्ट्रिजले आयोजना गरेको हो ।

महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गरे । उद्घाटन गर्दै उपराष्ट्रपति पुनले लोकगीतमा हाम्रो इतिहास, हाँसो, आँसु, पीडा, परिस्थिति कलात्मक तरिकाले प्रस्तुति हुने भएकाले लोकगीत जीवनको वास्तविक अभिव्यक्ति भएको बताए ।

उनले विभिन्न जातजाति, भूगोल, धर्म संस्कृतिमा गाइने लोकगीत सङ्गीत देशको अमूल्य सम्पत्ति भएको बताए ।

टुबोर्गको प्रस्तुति एवं बागेश्वरी खड्का हाउजिङ डेभलपर्सको मुख्य प्रायोजन रहेको महोत्सवको पहिलो दिन विभिन्न लोक भाका एवं गीतहरू चर्चित गायक÷गायिकाहरूले प्रस्तुत गरेका थिए । पूर्वेली गीतदेखि सुदूरपश्चिमको देउडा भाकासम्म एउटै मञ्चबाट गुन्जिएको थियो ।

उपराष्ट्रपति पुनकै आग्रहमा बागलुङ, म्याग्दी जिल्लामा गाइने लोपोन्मुख यानीमाया भाकासँगै रोल्पा जिल्लातिर गाइने मौलिक लोक भाका ‘साइँला बरै’समेत टुँडिखेलमा प्रस्तुत गरियो ।

वीरन्द्रकुमार झाले मैथली गीत प्रस्तुत गरे भने कमलीकान्त भेटवालले पूर्वेली गीत प्रस्तुत गरे । त्यस्तै, मणिराम करिया मगरियाले थारु गीत प्रस्तुत गरे भने सरोज लामिछाने र रामकुमार नेपालीले काठे लोक भाका प्रस्तुत गरे । नन्दकृष्ण जोशी र पुष्पा बोहराले देउडा भाका प्रस्तुत गरे भने टिका बमजनले तामाङ सेलो गीत गाए ।

महोत्सवको पहिलो दिन लोक गीतमार्फत योगदान पुर्‍याउने अग्रज देउडा गायक नन्दकृष्ण जोशी, भोजपुरी गायक ध्रुवसिंह ठकुरी, थारु गायक मणिराम करिया मगरिया, अग्रज गायिका तीर्थ कुमारी थापा, मैथली गायक वीरेन्द्रकुमार झा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर विरही गुरुङलाई सम्मान गरिएको थियो ।

स्वर्गीय बुद्धिकृष्ण लामिछाने, रत्न बानिया, जङ्गबहादुर गन्धर्व, भगवती दंगाललाई मरणोपरान्त सम्मान प्रदान गरियो । उद्घाटनसँगै शनिवारबाटै दोहोरी प्रतिस्पर्धा सुरु भएको छ ।

देशभरका विभिन्न जिल्लाबाट सहभागी ६७ समूहबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने समूहलाई ५ लाख रुपैयाँसहित पदक तथा अन्य पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरिनेछ ।

दोहोरी प्रतियोगितामा खातीप्राप्त गायक–गायिकाहरू निर्णायकका रूपमा रहेका छन् । पुरुषोत्तम न्यौपाने, घमेश दुलाल, हरि थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल निर्णायकका रूपमा छन् ।

त्यस्तै, गायक–गायिकाहरू अमृत खाती, मिना मैया थापा, भिमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र राम कुमार नेपाली सम्मिलित निर्णायक मण्डल समेत रहेको छ ।

महोत्सवमा उत्कृष्ट गायक–गायिकालाई २५ हजार नगद पुरस्कार एवं २० हजार राशिको नव–प्रतिभा पुरस्कार समेत प्रदान गरिनेछ । महोत्सवमा हरेक दिन विभिन्न विधाका चर्चित कलाकारहरूको समेत प्रस्तुति रहनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *