चितवन कांग्रेसका नेताहरूको डेलिगेसन काठमाडौंमा, भरतपुरको मेयर तालमेलको बटमलाइन

काठमाडौं । नेपाली कांग्रेस चितवनका नेताहरूले भरतपुर महानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेगरी मात्रै चुनावी तालमेलको निर्णय लिन सत्ता गठबन्धनको ध्यानाकर्षण गराएका छन् ।

चितवनबाट प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइराला, जिल्ला सभापति राजेश्व खनाल, निर्वतमान सभापति जितनारायण श्रेष्ठ र नेता जगन्नाथ पौडेलको टोलीले गठबन्धनको निर्वाचन तयारी एवं अनुगमन समितिका संयोजक रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले छाड्न नसक्ने स्पष्ट पारेका हुन् ।

भेटमा चितवनका नेताहरूले विगतमा माओवादीलाई मेयर दिएकोले यसपटक कांग्रेसले पाउनुपर्ने अन्यथा पार्टी संगठन ध्वस्त हुने चेतावनी दिएका छन् । जवाफमा कांग्रेस वरिष्ठ नेतासमेत रहेका गठबन्धन संयोजक पौडेलले मागबारे गठबन्धनमा छलफल हुने बताए ।

‘तपाईंहरूको चासो मैले बुझेको छु । गठबन्धनमा यसबारे छलफल हुन्छ नै । सभापति र अरु नेताहरूलाई पनि भन्नुहोला’, पौडेलको भनाइ थियो ।

चितवन कांग्रेसका सभापति राजेश्वर खनालले गठबन्धन र पार्टीको निर्णय स्वीकार गरेपनि भरतपुरको मेयर छाड्ने अवस्था नरहेको बताए ।

‘गठबन्धन र चुनावी तालमेलको निर्णय हामी स्वीकार्छौं तर भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्छ भन्ने हाम्रो बटमलाइन हो’, खनालले नेपाल प्रेससँग भने ।

चितवनका नेताहरूको टोलीले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस महामन्त्री गगन थापा समेतलाई भेटेर आफ्नो बटमलाइन राख्ने जनाएका छन् ।

Comments

One response to “चितवन कांग्रेसका नेताहरूको डेलिगेसन काठमाडौंमा, भरतपुरको मेयर तालमेलको बटमलाइन”

  1. LEKH NATH PAUDEL Avatar
    LEKH NATH PAUDEL

    आफ्नै पार्टी, नेता, नीति, बिधान सम्बत जानै हुन्न भन्ने केन्द्रिय नेताको पछि पनि कुनै इमान्दार नेता तथा कार्यकर्ता लाग्न हुन्छ र ?
    कांग्रेशको हरिबिजोग देख्ने दिन अब धेरै टाढा छैन कि के हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *