पुलिस र पत्रकारसँग किन असन्तुष्ट छिन् पूजा शर्मा ?

काठमाडौं । नेपालमा सर्वाधिक ट्रोल हुने कलाकारको सूची बनाउने हो भने सम्भवतः एक नम्बरमा नै आउँछिन् नायिका पूजा शर्मा । विभिन्न कार्यक्रममा दिएका अभिव्यक्ति र अन्तरवार्तालाई लिएर उनको बारम्बार खिसिट्यूरी हुने गरेको छ ।

हालै पल शाह प्रकरणमा पनि यी नायिका निकै विवादमा परिन् । उनले बलात्कारका विषयमा दिएको हलुका प्रतिक्रियाले गर्दा सामाजिक सञ्जालमा चर्को आलोचना भोग्नुपर्‍यो । यद्यपि, उनले पल शाहको पक्षमा अभिव्यक्ति दिई नै रहिन् । यही सेरोफेरोमा उनले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ ले भने शानदार व्यापार गर्‍यो । पल शाह प्रकरणको फाइदा फिल्मलाई भयो ।

फिल्म हिट भएयता भने पूजा मिडियाबाट अलि दुरी बनाइरहेकी छन् । केही दिनको ग्यापपछि हिजो उनी आफू अभिनीत नयाँ म्युजिक भिडियो ‘नथिया’ रिलिजका अवसरमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारमाझ प्रस्तुत भइन् । त्यस क्रममा पूजाले ‘मिडिया र पुलिस’ प्रति आफ्नो असन्तुष्टि प्रकट गरेकी छन् । पत्रकार र पुलिस कहिल्यै आफ्नो नहुने पूजाको भनाइ छ ।

उनले भनिन्, ‘मैले यो वर्ष धेरै कुरा सिकिसकेँ । पत्रकार र पुलिस कहिल्यै आफ्नो हुँदैन… यो लेसन हो मेरो लागि … सबै जनालाई आ–आफ्नो ठाउँमा राख्न सक्नु पर्दो रहेछ… धेरै नजिक पनि हैन धेरै टाढा पनि हैन, ठिक्कको राख्नु पर्ने रहेछ ।’

उनले यो भनाइलाई व्याख्या भने गरिनन् । बरु ‘दुई तीन दिनमा आफूले केही गर्ने’ अमूर्त चेतावनी दिइन् । कसका विरुद्ध के गर्न लागेको हो भन्ने खुलाइनन् ।
चलचित्र क्षेत्रमा कलम चलाउने धेरै पत्रकार र युट्यूवरसँग पूजाको घनिष्ठ मित्रता छ । धेरै युट्यूवरहरु उनको अघिपछि घुमिरहेका हुन्छन् । तर, पछिल्लो समय आफ्नो अभिव्यक्ति विवादमा पर्दा कसैले पनि बचाउ नगरेका कारण उनी मिडियासँग असन्तुष्ट बनेकी हुन् कि भन्ने आँकलन गर्न सकिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *