ओखलढुङ्गा । सभा हलको ढोकामा कडा सुरक्षा छ । जनप्रतिनिधी र गाउँ सभा सदस्यहरु हलभर खचाखच थिए । हल छिर्न सबैलाई परिचयपत्र अनिवार्य गरिएको थियो । भित्र पसेकालाई तोकेको स्थानभन्दा फरक स्थानमा बसे तत्काल मर्यादापालक नियममा ल्याउन अग्रसर हुन्थे ।
मञ्चमा पालिका प्रमुख, उपप्रमुख र सचिव प्रमुख प्रशासकिय अधिकृत छन्। अघिल्लो पक्तिमा गाउँपालिकाका १ देखि ८ सबै वडाका वडा अध्यक्ष, वडा सदस्यहरु छन्।
सभामा गाउँपालिका प्रमुखले आगामी वर्षको लागि युवा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन्। सभाका सदस्य त्यसलाई सुनिरहेका छन्। यसलाई हेर्दा लाग्थ्यो साच्चीकै गाउँपालिकाको सभा चलिरहेको छ। तर, यो दृष्य हो, ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा युवाले सञ्चालन गरेको नमूना युवा संसद कार्यक्रमअन्तर्गत नमूना गाउँ सभा अभ्यास कार्यक्रमको।
युवाहरुले राजनीतिक नेतृत्वलाई युवाका मुद्दाप्रति सचेत गराउन र युवालाई संसदीय अभ्यासमा लैजान युवा संसद सञ्चालन गरिएको मोलुङ गाउँपालिका सूचना प्रविधि अधिकृत एवं युवा कार्यक्रम संयोजक गोपाल नेपालले जानकारी दिए। उनले नेपाल सरकार राष्ट्रिय युवा परिषदको प्रत्येक वर्ष जिल्लाको १ वाट स्थानीय तहमा युवा संसद सञ्चालन गर्ने नीति अनुसार ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा नमूना युवा संसद कार्यक्रम सञ्चालन गरिएको बताए।
उनले गाउँपालिकाका प्रत्येक वडाबाट ३–३ जना, र गाउँपालिकाबाट ६ जना गरेर ३० जना युवा सहभागी गराई चार दिनसम्म उनीहरुलाई संसदीय प्रक्रिया, ज्ञानको बारेमा जानकारी दिइ नमुना युवा संसद कार्यक्रम सञ्चालन गरिएको बताए।
युवाले सञ्चालन गरेको नमूना युवा सांसद अभ्यास कार्यक्रममा प्रदेश सासंद एवं पुर्व भौतिक पुर्वाधारमन्त्रि अम्बिर बाबु गुरुङले उद्घाटन गरेका थिए । कार्यक्रममा समापन प्रतिनिधि सभा सदस्य सासंद यज्ञराज सुनुवार, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष वडा अध्यक्ष, सदस्य प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो।

युवाले सभा भित्रको महत्व सिकाएको भन्दै अब गाउँपालिकामा सञ्चालन हुने गाउँ सभामा पनि त्यो सिको आत्मासाथ गरिने मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राईले बताए।
‘हामी हाम्रो सभामा त्यति जिम्मेवार भएको म देख्दिन’, उनले भने, ‘युवा सांसदले त्यो जिम्मेवारी गर्न सिकाए। चार दिनसम्म युवा सांसदसँगै रहेका चौधरीले सभा भित्र सभ्यता, जिम्मेवारी बोध, प्रक्रियाको बारेमा स्पष्ट पारिदिएको बताए ।
संसदको भूमिकामा रहेका युवाले संसदीय अभ्यासमार्फत युवाका मुद्दालाई स्थानीय तहबाट स्थापित गर्ने दबाब दिएको बताएका छन्। आफ्नो–आफ्नो जिम्मेवारी बहन गरेर सभा संचालन गर्यौ सभाध्यक्ष तथा गाउँपालिका प्रमुखको जिम्मेवारी बहन गरेकी युवा सम्पदा अधिकारीले भनिन्, जिम्मेवारी तोकिएमा छुट्टै मनोविज्ञान आउँदो रहेछ। यो अवस्थामा नेतृत्व विकास गर्नेसमेत अवसर पाएको उनले बताइन् ।
गाउँपालिका प्रमुख र उपप्रमुख भूमिका दुवैैमा महिला सहभागिता देखेर खुसि प्रकट गर्दै गाउँपालिका उपाध्यक्ष हेम कुमारी तामाङले उप त चुप भन्ने हरुलाई युवाले गतिलो प्रहार गर्दै नेतृत्वमा महिला सहभागितामा जोड दिनु पर्ने बताइन् ।
कार्यक्रम समापन गर्दै संघिय प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारले नमुना गाउँ सभा संचालन गर्ने युवाहरुको र मोलुङ गाउँपालिकाको प्रशंसा गर्दै युवाले समग्र नेतृत्व विकास र क्षमता विकास गरी अगाडि बढेमा भविष्यमा कुशल राजनितिज्ञ बन्ने कुरामा जोड दिए ।


Leave a Reply