प्रदेश १ का १३७ स्थानीय तहमध्ये १० वटामा महिला निर्वाचन अधिकृत 

काठमाडाैं ।  प्रदेश १ मा रहेका १३७ स्थानीय तह मध्य १० स्थानीय तहमा महिला निर्वाचन अधिकृत रहेका छन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश स्थानीय तहको निर्वाचन अधिकृतमा महिलालाई खटाएको हो ।

आयोगले आयोगले प्रदेश नं १ का १४ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । त्यसमा एक जना पनि महिला पर्न सकेनन् । अझ प्रदेश एकमा आयोगद्वारा नियुक्त निर्वाचन अधिकृतमा समेत महिलाको सङ्ख्या ज्यादै कम रहेको छ ।

आयोगले प्रदेशका १४ जिल्लामा १४ मुख्य निर्वाचन अधिकृत र १२३ निर्वाचन अधिकृत नियुक्ति गरेको छ । मुख्य निर्वाचन अधिकृतलाई आफू कार्यरत जिल्लाको एउटा पालिकाको निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पनि हुनेछ । निर्वाचन आयोगका सूचना अधिकृत शालिग्राम शर्मा पौडेलले सम्बन्धित जिल्ला अदालतका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकिएको बताए  ।  महिलाले चासो नदेखाएकाले मुख्य निर्वाचन अधिकृतमा नियुक्ति नभएको हुनसक्ने उनको भनाइ छ । “जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्ति गरिएको छ”, उनले भने, “प्रदेशमा महिला न्यायाधीश हुनुहुन्थेन कि, भए पनि जान सक्दिन भन्नुभयो कि, बुझ्नुपर्छ ।”

स्थानीयतहको निर्वाचन गराउन तोकिएका निर्वाचन अधिकृतमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा विनीता भट्टराई, पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पूजा खत्री, इलामको रोङ गाउँपालिकामा उषा श्रेष्ठ, सङ्खुवासभाको पाँचखपन नगरपालिकामा शशी राई, भोजपुरको आमचोक गाउँपालिकामा कल्पना राई, सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा कोपिला राई, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सङ्गीता न्यौपाने ढुङ्गेल, ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिकामा कमला काफ्ले र ओखलढुङ्गाको सुनकोसी गाउँपालिकामा कविता फुँयाल रहेका छन्  ।

आयोगका सूचना अधिकृत पौडेलले उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँमा भने बढी मात्रामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा महिला नै बढी नियुक्ति भएको बताए ।  दुर्गम स्थानमा जानका लागि महिला इच्छुक नभएका कारण पनि प्रदेश नं १ मा महिला निर्वाचन अधिकृत कम भएको हुनसक्ने बताए ।

प्रदेश नं. १ मा ३३ लाख ४६ हजार ३८४ मतदाता रहेका छन् । त्यसमा १६ लाख ९९ हजार ८०० पुरुष र १६ लाख ४७ हजार ६१ महिला र २३ जना अन्य रहेको निर्वाचन आयोगले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *