कांग्रेस बैठकमा उपसभापति गुरुङले सबैको सम्पत्ति छानबिन गर्न माग गरेपछि…

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले २०४६ सालपछिका सबै जनप्रतिनिधिहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

कांग्रेस केन्द्रीय समितिको सोमबारको बैठकमा उपसभापति गुरुङले निर्वाचन गठबन्धनले नभई एजेण्डाले जितिने भन्दै भ्रष्टाचारीलाई कारबाही गर्ने एजेण्डा बोकेर चुनावमा जानुपर्ने बताएका हुन् ।

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई २०४६ सालयताका सबै प्रधानमन्त्री,मन्त्री, सांसद र स्थानीय जनप्रतिनिधिहरूको सम्पत्ति विवरण सार्वजनिक गराउने अभियानको नेतृत्व लिने गुरुङले आग्रह गरे ।

‘प्रधानमन्त्रीजीले हिम्मत गर्नुहोस् । सबैको सम्पत्ति विवरण सार्वजनिक गरौँ । भ्रष्टाचारीलाई जेल हाल्ने एजेण्डा बोकेर चुनावमा जाऔँ । जनताले दुई तिहाइ दिनेछन् । कुनै कम्युनिस्ट पार्टीको बुँइ चढ्नुपर्दैन’, बैठकमा गुरुङले भनेका थिए ।

उनले भ्रष्टाचार नै मुलुकको मुख्य शत्रु रहेको भन्दै आफू सम्पूर्ण सम्पत्ति विवरण सार्वजनिक गर्न तयार रहेको बताए । उनले कांग्रेसका नेताहरूबाटै सम्पत्ति विवरण सार्वजनिक र छानबिनको काम थाल्नुपर्ने बताए ।

‘म आफ्नो सम्पत्ति सार्वजनिक गर्न तयार छु । हामी सबैले आ–आफ्नो सम्पत्ति सार्वजनिक गरेर जनतामा जाऔँ । यति हिम्मत गर्‍यौ भने देश पनि बन्छ, कांग्रेसले पनि जित्छ’, गुरुङको भनाई छ । अन्य नेताहरूले बोल्दाबोल्दै जवाफ फर्काएका सभापति देउवाले भने उपसभापति गुरुङलाई कुनै जवाफ दिएनन् ।

चुनावी तालमेलको विपक्षमा उभिदै आएका उपसभापति गुरुङले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा ठूला अनियमितता काण्डको छानबिन गर्ने उल्लेख भए पनि परिणाम नदेखिएको गुरुङको भनाई छ ।

उपसभापति गुरुङले मङ्गलवार पनि सामाजिक सञ्जालमार्फत प्रजातन्त्र पुनर्स्थापनापछिका सबै गाविस अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका मेयर, उपमेयर, सांसद, मन्त्री, प्रधानमन्त्री, उच्चपदस्थ कर्मचारी, सेना, प्रहरी र न्यायाधीशसमेतको सम्पत्ति छानबिन गरेर भ्रष्टाचारविरुद्ध अभियान चलाउन माग गरेका छन् ।

उनले सम्पत्ति छानबिनको सुरुआत आफैबाट गर्नसमेत माग गरेका छन् ।

Comments

One response to “कांग्रेस बैठकमा उपसभापति गुरुङले सबैको सम्पत्ति छानबिन गर्न माग गरेपछि…”

  1. नेपाली नागरिक Avatar

    Wow यस्तो हो प्रतिनिधीत्व गर्न लायक को नेता भनेको उहाँ ले भने जसरी नै सबै नेताको सम्पति विवरण सार्वजनिक गर्ने हो भने नेपालमा अर्को भ्यू टावर बनाइने भन्दा धेरै पैसा ताई बट निस्किन्छ।जनता ले खोजेको यही हो।👏👏

Leave a Reply

Your email address will not be published. Required fields are marked *