माधव नेपाल भन्छन्- हामी तीन प्रदेशमा एमालेभन्दा अगाडि, केपी ओली बिचराको बेहाल छ (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सशक्तरूपमा अगाडि बढिरहेको बताएका छन् । उनले स्थापनाकालमै आफ्नो पार्टी सुदूरपश्चिम, मधेस प्रदेश र कर्णाली प्रदेशमा एमालेभन्दा अगाडि रहेको बताए ।

‘सुदूरपश्चिममा त हाम्रो पार्टी एक नम्बरमा छ । केपी ओलीको पार्टी भुइँमा पछारिएको छ,’ पार्टीनिकट मुस्लिम इत्तेहाद संगठनको भेलामा सम्बोधन गर्दै उनले भने,‘माओवादी २ नम्बर, कांग्रेस ३ नम्बर, केपी ओली बिचरा बेहाल !’

त्यसैगरी मधेस प्रदेशमा पनि नेकपा (एस) भन्दा एमाले धेरै पछाडि परेको उनले दाबी गरे । उनले भने, ‘दुई नम्बर प्रदेशमा हामी सशक्त भएर अगाडि छौं । केपी ओलीको पार्टी त कहाँ हो कहाँ ।’

राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई धुलिसात बनाएको पनि नेता नेपालले दाबी गरे ।
‘पहिलो चुनावमा एकसिटमा धुलो चटायौं,’ उनले भने,‘दोस्रोपटक १९ सिटमा भएको चुनावमा एक सिटमा सीमित पारेर धुलिसात पारिदियौं ।’

कर्णाली प्रदेशको विषयमा बोल्दै उनले भने,‘कर्णाली प्रदेशमा पनि हाम्रो पार्टी अगाडि सशक्त ढंगबाट अगाडि बढिरहेको छ, एमाले पछारिएर अर्धबेहोस अवस्थामा छ ।’

जिल्लाहरूको विषयमा बोल्दै उनले आफ्नो पार्टी अधिकांश जिल्लामा एमालेभन्दा अगाडि रहेर सशक्त ढंगले संगठित भएर अघि बढिरहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *